गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै चीनलाई नेटोको चेतावनी

गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै चीनलाई नेटोको चेतावनी

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका नेताहरुले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको बताएका छन् । चीनले गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै उनीहरुले चेतावनी समेत दिएका छन् । तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको  चीन आफ्ना सैनिकको आधुनिकीकरणमा पारदर्शी नरहेको पनि उनीहरुले बताएका छन् ।

ब्रसेल्समा बसेको नेटोको बैठकले रुसी सैनिकसँग चीनले सहकार्य गरेको आरोप पनि लगाएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशबीचको सैन्य तथा राजनीतिक सहकार्यको सङ्गठन हो । कम्युनिस्ट शासनको विस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो ।

पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बीचमै सङ्गठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भएको छ । खासगरी अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि तनाव बढेको थियो ।

अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बैठकमा सहभागी भएका जो बाइडेनले भने ७२ वर्ष पुरानो सहकार्यमा अमेरिका पूर्ण शक्तिका साथ फर्किएको बताउनु भएको छ ।