कैलालीमा बाढीको वितण्डा ! एक महिलाको मृत्यु, दुई दर्जन घर डुवानमा, सचेत रहन प्रशासनको आग्रह (फोटो फिचर)

कैलालीमा बाढीको वितण्डा ! एक महिलाको मृत्यु, दुई दर्जन घर डुवानमा, सचेत रहन प्रशासनको आग्रह (फोटो फिचर)

धनगढी : आईतवार रातिदेखिको अविरल वर्षासँगै कैलालीको गोदाबरी नगरपालिका–९ धनचौरी गाउँमा घर भत्किँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

घटनामा अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले गोदाबरी नगरपालिका–९ धनचौरीका कडेरा रानाको काठले बनेको कच्ची घर आईतवारराति भत्किँदा उहाँकी श्रीमती ६० वर्षीया डुठा रानाको च्यापिएर घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

राति सुतिरहेको अवस्थमा अचानक कच्ची घर भत्किएको थियो । घटनामा घाइते रानाको अवस्था खतरामुक्त रहेको छ । 

दुई दर्जन घर डुवानमा

आइतबार रातिदेखि निरन्तर रुपमा परिरहेको वर्षाका कारण कैलालीमा करिव दुई दर्जन घर डुबानमा परेका छन्। जिल्लाको भजनी नगरपालिकाको लालबोझी, थापापुर लगायत दक्षिणी पूर्वी क्षेत्रमा घरहरु डुवानमा परेको प्रहरीले जनाएको छ ।

कैलालीको मध्य क्षेत्रनमा बग्ने कान्द्रा, काँडा नदीमा पानीको बहाव बढदा सो क्षेत्रमा डुबान भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले वर्षा नरोकिएकाले बिस्थापित परिवारको संख्या बढ्न सक्ने बताए । उनले अझै वर्षा नरोकिएका कारण सचेत रहन आग्रह गरे ।

छ लेन सडक र अत्तरीया जलमग्न

बर्षाका कारण निर्माणाधिन मोहनापुल–अत्तरीया ६ लेन सडकमा आवतजावत गर्न सास्ती भएको छ । सडकमा निर्माण भईरहेका कल्र्भटमा पानी भरिएर सडक नै जलमग्न भएपछि केहि स्थानमा आवतजावत नै अवरुद्ध भएको थियो ।

अविरल वर्षाका कारण कैलालीको अत्तरिया बजार र आसपासको क्षेत्र समेत जलमग्न भएको छ । बजार क्षेत्रमा ढल निकासको उचित व्यवस्थापन हुन नसक्दा मुख्य चौक र आसपासको क्षेत्र पानीले जलमग्न भएको हो । 

वनवासा पुलमा सवारी संचालनमा रोक

महाकाली नदिमा पानीको वहाव उच्च भएपछि वनवासा पुलमा सवारी साधन संचालनमा रोक लगाईएको छ । महाकाली नदिमा पानीको सतह वढे संगै नेपाल भारत सिमा स्थित वनवासा पुलमा भारतिय पक्षले चार पाङग्रे सवारीसाधनमा रोक लगाएको छ ।

दिउँसो ३ वजेको मापन अनुसार महाकालीमा पानीको वहाव १ लाख २४ हजार क्युसेक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

अछामको जनजीवन पनि प्रभावित

उता, वर्षाले अछामको जनजीवन प्रभावित भएको छ । मंगलसैनबाट नियमित रुपमा ग्रामिण सडकमा सञ्चालन हुने सार्वजनिक यातायात नचल्दा यात्रु मारमा परेका छन् । 

सडकखण्ड पनि अवरुद्ध

साँफे–मार्तडी सडक जोड्ने सडकखण्ड पनि अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्गको ठाउँ ठाउँमा पहिरो आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गएको शुक्रबार अवरुद्ध बनेको सडक जेसिवी प्रयोग गरी सञ्चालनमा ल्याइए पनि आइतबार राति आएको पानीका कारण जिल्ला कारागार बाजुरादेखि गुइगाड खोलासम्मको सडकमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभएको छ ।

साँफे–मार्तडी सडक जोड्ने गुइगाडको पुल बन्न नसक्दा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको बताइएको छ । 

अझै दुई दिन वर्षा हुने

मनसुन पूर्ण रूपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ ।

गएको चौबीस घण्टामा धनगढीमा मात्रै ९८ दशमलब ९ मिलिमिटर वर्षाको रेकर्ड भएको छ ।