भारतमा कोरोना संक्रमण घट्यो : दैनिक ८५ हजारभन्दा कम संक्रमित

भारतमा कोरोना संक्रमण घट्यो : दैनिक ८५ हजारभन्दा कम संक्रमित

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण ८५ हजारभन्दा तल झरेको छ ।केही समयअघिसम्म कोरोनाका कारण नराम्ररी प्रभावित बनेको भारतमा क्रमस सङ्क्रमण घट्दो क्रममा रहेको छ । कोरोनाको दोस्रो भेरियन्टले विश्वमै सबैभन्दा बढी आक्रान्त बनेको मुलुक हो भारत ।

यहाँ दैनिक चार लाखभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि हुने गरेको थियो । हालसम्म विश्वका कुनै पनि मुलुकमा एक दिनमा चार लाख सङ्क्रमित भेटिएका छैनन् ।

तर त्यो सङ्ख्या क्रमस घट्दै अहिले ८५ हजारभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार छ सय ९५ जना नयाँ बिरामी थपिएका छन् ।

तर नयाँ थपिएको सङ्क्रमित सङ्ख्या अन्य मुलुकको भन्दा उच्च हो । भारतमा हालसम्म दुई करोड ९३ लाख ५८ हजार ३३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७९ लाख एक हजार छ सय ८८ जना उपचारपछि निको हुँदै कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । १० लाख ८९ हजार दुई सय ४८ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा दैनिक सङ्क्रमितको मृत्युमा भने उतारचढाव कायमै छ । महामारीको रूप लिएको सङ्क्रमण क्रमस नियन्त्रण हुँदै गर्दा भारतमा दैनिक मृत्यु भने घट्न सकिरहेको छैन ।

कहिले एकै दिनमा छ हजार जनाको मृत्यु कोरोनाका कारण हुन्छ । कहिले त्यो सङ्ख्या घटेर दुई हजार हाराहारीमा झरेको हुन्छ ।

भारतमा एकै दिन अर्थात पछिल्लो २४ घण्टाभित्र चार हजार जनाको मृत्यु कोरोनाका कारण भयो । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि विश्वका अन्य मुलुकको भन्दा अत्याधिक धेरै हो ।

भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ६७ हजार ९७ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।