कैलालीको बर्दगोरियामा महिना नपुग्दै उप्कियो कालोपत्रे

कैलालीको बर्दगोरियामा महिना नपुग्दै उप्कियो कालोपत्रे

कैलालीको बर्दगोरिया गाउँपालिकामा चालु आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ७ सय ४० मिटर सडक कालोपत्रेको हुने भएको छ । पालिकाको वडा नम्बर ५ मा ६२ लाख ५६ हजार ९ सय रुपैयाँको लागतमा १ हजार २ सय ३५ मिटर, वडा नम्बर १ स्थित बास्कोटीमा ५६ लाख २ हजार ८ सय रुपैयाँको लागतमा १ हजार ५० मिटर र वडा नम्बर ४ को मुडा बजार–तल्ला पानी सडक खण्ड ७६ लाख ६५ हजार ४ सय रुपैयाँको लागतमा ४ सय ५५ मिटर सडक कालोपत्रे सहित एक रिटेलिङ वाल समेत निर्माण हुने भएको छ ।

पालिकाको सबै अर्थात् २ हजार ७ सय ४० मिटर सडक कालोपत्रे गर्न जम्मा ३ करोड ३७ लाख २ हजार रुपैयाँको लागत स्टिमेट भए पनि बस्नेत विल्डर्स कन्चनपुरले भने १ करोड ९५ लाख २५ हजार ३ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माणको जिम्मा पाएको बस्नेत विल्डर्सले वडा नम्बर ५ मा सडक कालोपत्रे गरिसकेको छ । यस्तै बास्कोटीमा काम जारी छ भने मुडा बजार तल्ला पानी सडक खण्ड कालोपत्रेको तयारी भइरहेको छ । वडा नम्बर ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै कालोपत्रे उप्किन थालेको छ । निर्माण कम्पनीले मापदण्ड पुरा गरेको भए पनि गुणस्तरीय काम भने नगरेको आरोप लागेको छ ।

निर्माण भएको १ हजार २ सय ३५ मिटर सडक मध्ये करिब ३ सय मिटर कालोपत्रेमा समस्या देखिएको पालिकाको प्राबिधिक टोलीको भनाई छ । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको पालिकाका इन्जिनियर नवीन कुमार सिंहले बताउनु भयो । सुरु देखी नै हामीले निर्माण कम्पनीलाई बेसको मेट्रियल राम्रो ल्याउन भनेका थियौ । उहाँले माटो मिसिएको ल्याउनु भएको थियो । इन्जिनियर सिंहले भन्नु भयो, “अव सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिन्छ ।”

यति बेला सो सडकको किनार अर्थात् छेउबाट कालोपत्रे भत्किँदै र उप्किँदै जान थालेको छ । निर्माण कम्पनीले गुणस्तर हीन काम गरेको भन्दै स्थानीयहरू समेत विरोध गर्न थालेका छन् । यता निर्माण कम्पनीका सञ्चालक नरेन्द्र बस्नेतले भने कमसल काम नगरेको बरु मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोग गरेको दाबी गर्नु भयो । स्थानीय सरकार तथा स्थानीयबासीहरुले काम गर्ने सहज वातावरण सृजना नगर्दा पनि समस्या आएको भन्दै निर्माण कम्पनीले आफ्नो बचाउ गरेको छ ।

मापदण्ड भित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भए पनि आफू बाहिर हुँदा कामदारहरूको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिएको र निरन्तर सुधार गर्दै आएको भन्दै सञ्चालक बस्नेतले थप समस्या देखिएको ठाउँमा पुन सुधार गर्ने बताउनु भएको छ । कतिपयले ठेक्का प्रक्रियाको प्रभावकारी नहुँदा पनि यस्तो समस्या आउने बताएका छन् । कालोपत्रेको करिब साढे ३ करोड लागत स्टिमेट हुँदा पनि २ करोडमा काम गर्नु पर्ने बाध्यताका कारण पनि आयोजनाहरू गुणस्तर हीन हुने गरेको धेरैको धारणा छ ।