सुनको भाउ ६ वर्षयताकै उच्च, तोलाको ६२ हजार ३ सय

सुनको भाउ ६ वर्षयताकै उच्च, तोलाको ६२ हजार ३ सय

पाँच दिनदेखि स्थानीय बजारमा बढेको सुनको भाउ आज शुक्रबार थप उचाइमा पुगेको छ । आज सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ ६ वर्षयताकै उच्च हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन बिहीबार र बुधबारको दाँजोमा १ सयले बढेर तोलाको ६२ हजार ३ सय रुपैयाँ पुगेको हो । बुधबार तोलाको ६२ हजार २ सय पुग्दा अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको थियो । 

गत आइतबार तोलाको ६१ हजार २ सय रुपैयाँ पुगेको भाउ सोमबार थप २ सयले बढेर ६१ हजार ४ सय र मंगलबार अझै १ सय महँगो भई ६१ हजार ५ सयमा कारोबार भएको थियो । खस्किँदै गएको अमेरिकी अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च हुँदै गएको व्यवसायीको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ यसअघि २०७० भदौ १२ गते नेपाली इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको आधिकारिक ‘रेकर्ड’ छ । स्थानीय बजारमा सुनको भाउ अझै बढ्ने अनुमान छ ।