पीएनजीमाथि नेपालको फराकिलो जित

पीएनजीमाथि नेपालको फराकिलो जित

विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले प्लेअफको पहिलो खेलमा पपुवा न्यूगिनी(पीएनजी)माथि ६ विकेटको फराकिलो जित हात पारेको छ।

जितसँगै नेपालले एकदिवसीय मान्यता पाउनका लागि नेदरल्याण्ड र हङकङबीच जारी प्लेअफको अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ। नेदरल्याण्डले उक्त खेल जितेमा नेपालले सोझै एकदिवसीय मान्यता पाउनेछ भने हङकङले जितेमा नेपालले हङकङसँग शनिबार एकदिवसीय मान्यताका लागि खेल्नुपर्नेछ। सातौं स्थानका लागि हुने उक्त खेलको विजेताले एकदिवसीय मान्यता पाउनेछ। उक्त खेलमा नेदरल्याण्डले दिएको १ सय ७५ रनको लक्ष्य हङकङले पछ्याइरहेको छ। 

पीएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २३ अोभरमा ४ विकेट गुमाएर भेटाएको थियो। नेपालका दीपेन्द्रसिंह एेरीले ४८ रन जोडेका थिए। ७२ बलको सामना गरेका दीपेन्द्रले १ चौका तथा २ छक्का प्रहार गरेका थिए। 

यस्तै, अारिफ सेखले २६ तथा पारस खड्काले २० रन जोडे भने अनिलकुमार साह ९ र ज्ञानेन्द्र मल्ल १ रनमा अाउट भएका थिए।  पीएनजीका नोर्मन भाउवले २ तथा एलेइ नाव र जोन रेभाले समान १-१ विकेट लिएका थिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले २७.२ अोभरमा सवै विकेट गुमाएर १ सय १४ रन जोडेको थियो। पीएनजीका चाल्स जोर्डन अामिनीले सर्वाधिक १९ रन जोडे। उनीसँगै जोसन किलाले १५ तथा अशोदल्लाह भाला, चाड सोपुर र किपलिन डोरिगाले समान १० रन जोडेका थिए। 

नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह एेरीले समान ४-४ विकेट लिए। ४.२ अोभर बलिङ गरेका दीपेनद्रले १४ रन खर्चेर ४ विकेट लिएका थिए। यस्तै, ८ अोभर बलिङ गरेका सन्दीपले २९ रन खर्चेर ४ विकेट लिएका थिए। उनीसँगै सोमपाल कामी र करण केसीले पनि एक विकेट हात परे।