तीन देशमा हरेक साता उडान हुने

तीन देशमा हरेक साता उडान हुने

नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति पाएका छन्। सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको छ।

यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको हो। स्वीकृत तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन्। नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियिमत उडानको प्रस्ताव पेश गरेनन्।

अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने छ। टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ। यो उडान हरेक बिहीबार हुनेछ।

नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ। दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । कतारमा नेपाल एयरलाइन्स र कतारले हरेक सोमबार उडान गर्नेछन्।

दुबै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन्। नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली भने हरेक बुधबार उड्नेछ। भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ।

भारतमा एयर बबल स्किम अनुसार उडान भइरहेको छ। थप तीन मुलुकमा भने सरकारले एक साता अगाडी उडान खोल्ने निर्णय गरेको थियो।