गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा आज

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा आज

धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार हुँदैछ ।

चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा चितवनका सांसद प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले बुधबार राष्ट्रिय सभागृमा धुर्मुस सुन्तलीको अभियानमा ऐक्यबद्धता जनाउँदै रंगशाला निर्माणको घोषणा गर्नेछन् ।

रंगशाला निर्माणको घोषणा भएसँगै देश विदेशबाट सहयोग संकलन सुरु गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

चार महिनामा रंगशालाको डीपीआर तयार हुने बताइएको छ । त्यसपछि शिलान्यास हुनेछ र २ वर्षभित्र नेपालले पहिलो आधुनिक क्रिकेट रंगशाला चितवनमा पाउनेछ ।

गएको वर्षको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोटमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालमा सुविधासम्पन्न रंगशालाको माग गरी समर्थकहरुले अभियान नै चलाएका थिए ।

त्यसक्रममा नमूना नेपालको अभियानमा रहेका धुर्मुस सुन्तलीले त्यो अभियान रोकेर अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका थिए । त्यसपछि ललितपुरको गोदावरी, पोखरालगायतका स्थानमा जग्गा पहिचान भए पनि प्राविधिक कारणले नहुने देखियो ।

भरतपुर महानगरपालिकाकी मेयर रेणुदेवी दाहालको सक्रियतामा वन विश्वविद्यालयको जग्गा उपलब्ध गराएर पहिलो सुविधासम्पन्न रंगशाला चितवनले पाउन लागेको हो ।

धुर्मुसले नेपाली मौलिकता झल्कने रंगशाला बनाइने जानकारी दिए । रंगशाला बनेपछि यसलाई न्युट्रल भेन्यूको रुपमा पनि विकास गर्न सहज हुनेछ ।