भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी

भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी

सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । 

कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । 

कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले दिएका हुन् । उनले व्यक्तिगत रु एक लाख ५० हजारमा लैनो भैँसी खरीद गरेका थिए । 

प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालासहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए । 

सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिताको अवधारणा पहिलो पटक इनरुवा नगरपालिकाले ल्याएको हो ।

 कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले भैँसी कोशी गाउँपालिकामा आयोजित भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा भैँसी सुन्दरीसहित गाई सुन्दरी प्रतियोगितामा उत्कृष्ट ठहरिएका गाईधनीलाई नगदसहित सम्मान गरिएको थियो ।