भारतमा नयाँ कोरोना संक्रमितको संख्या घट्यो, मृत्युदर भने उस्तै

भारतमा नयाँ कोरोना संक्रमितको संख्या घट्यो, मृत्युदर भने उस्तै

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्न थालेको छ । सङ्क्रमित हुनेकाे सङ्ख्या बढेर दैनिक चार लाखभन्दा धेरै पुगेकोमा अहिले यो सङ्ख्या घटेर तीन लाखभन्दा कममा झरेको छ ।

गएको २४ घण्टामा भारतमा दुई लाख ७६ हजार दुई सय ६१ जनालाई सङ्क्रमण भएको छ । योसँगै भारतमा सङ्क्रमण हुनेको सङ्ख्या दुई करोड ५७ लाखभन्दा धेरै छ । भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि मृत्युदर भने कम हुन सकेको छैन । गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ८ सय ८० जनाको ज्यान गएको छ ।

योसहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख ८७ हजार एक सय ५६ पुगेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको सूचीमा भारत दोस्रो स्थानमा छ । अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल तेस्रो स्थानमा छ ।

अमेरिकामा गएको २४ घण्टामा २८ हजार ५ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै, ब्राजिलमा झण्डै ८० हजार नयाँ सङ्क्रमित थपिँदा दुई हजार ४ सय ८५ जनाको ज्यान गएको छ ।