दुई साता थपियो निषेधाज्ञा, विवाह तथा व्रतबन्ध गर्न नपाइने !

दुई साता थपियो  निषेधाज्ञा, विवाह तथा व्रतबन्ध गर्न नपाइने !

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आगामी १३ जेठसम्म थपसहित कडा पारिएको छ । नयाँ नियमअनुसार अब पार्टी प्यालेस, क्याट्रिङ तथा होटलबाट विवाह तथा व्रतबन्ध गर्न पाइनेछैन ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर प्रमुख जिल्ला अधिकारीले दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेका छन् । यसअघि, बिहान ९ बजेसम्म पसल खोल्न आदेश थियो ।

यसैगरी, विवाह तथा ब्रतवन्धमा १० भन्दा बढी भेला हुन पाइनेछैन भने ती कार्य १० जना मात्रै भेला भएर घरबाटै गर्नुपर्नेछ । नित्यकर्मबाहेकका धार्मिक गतिविधि सञ्चालनमा समेत रोक लगाइएको छ ।

त्यस्तै, अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालन गर्न पाइनेछैन । त्यस्ता सवारी साधन पूर्ण रोक लगाइएको छ । काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेपछि पहिलेका निर्णयमा केही परिमार्जनसहित थप कडा बनाइएको जानकारी दिए ।

पछिल्लो आदेशमा दुई व्यक्तिबीच अनिवार्य दुई मिटर भौतिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, अनिवार्य मास्क प्रयोग गर्न तथा पटकपटक साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न सर्वसाधारणमा आग्रह गरिएको छ ।

कोरोना संक्रमणलाई ‘चेनब्रेक’ गर्न भन्दै गत १६ वैशाखबाट सुरु निषेधाज्ञा २२ वैशाखसम्म तोकिएकोमा यसअघि एक साता थप गर्दै २९ वैशाखसम्म पु¥याइएको थियो ।