बन्ने भो गौतम बुद्ध क्रिकेट स्टेडियम , यस्तो छ योजना

बन्ने भो गौतम बुद्ध क्रिकेट स्टेडियम , यस्तो छ योजना

लामो प्रतिक्षा पछि अन्ततः धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमले मुर्त रुप लिने भएको छ।

भरतपुर महानगरपालिका-१५ मा बन्ने स्टेडियम हाल त्रिभुवन विश्वविद्यालयको नाममा रहेर कृषि तथा विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा बन्न लागेको हो। जग्गा स्टेडियमको लागि प्रयोग गर्न विश्वविद्यालय र भरतपुर नगरपालिका बीच सम्झौता भइसकेको छ।

यही माघ १६ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा प्रधानमन्त्रि केपी शर्मा ओलीको उपस्थितिमा रंगशालाको निर्माण घोषणा गरिने भएको छ। सोहि कार्यक्रममा भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसन बीच सहमतिपत्रमा हस्ताक्षर समेत हुनेछ।

स्टेडियम बनाउन भारतपुर् महानगरपालिकाले २० बिघा ६ कट्ठा जग्गा उपलब्ध गरेको छ। स्टेडियममा अन्य विधाका खेलकुदको लागि पनि खेल्न सकिने र क्रिकेट एकडेमीको रुपमा विकास गर्ने बताईएको छ।

स्टेडियम निर्माणको लागि फाउन्डेसनले देश-विदेशमा रहेका नेपालीहरुबाट रकम संग्कल थालीसकेको छ। निर्माण गर्न लाग्ने खर्च र समयको बारे घोषणा कार्यक्रममा जानकारी गराईनेछ।

राष्ट्रिय गौरवको अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने बताएका छन् ।

कलाकारिताबाट समाजसेवामा लागेका कट्टेलको नेतृत्वको फाउण्डेशनले यस अघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ । ती बस्तीमा ३२० बढी परिवार बसोबास गर्दै आएका छन् ।

नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउदै आए पनि अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम छैन। १९९८ देखि टियु मैदानमा अन्तर्राष्ट्रिय र राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु आयोजना हुँदै आए पनि यसको स्तरॊन्नति भने खासै भएको छैन। ठुला प्रतियोगिताहरु हेर्न जाने दर्शकहरु भुइँमा बसेर हेर्नु पर्ने बाध्यता रहँदै आएको छ भने आधुनिक स्टेडियममा हुनु पर्ने पूर्वाधारहरु छैन।

भरतपुरमा स्टेडियम बनेको अवस्थामा नेपाली क्रिकेटका ठुला प्रतियोगिताहरु काठमाडौँमा आयोजना हुने बाध्यता हट्ने छ भने ठुला र स्तरीय प्रतियोगिताहरु पनि आयोजना हुनसक्नेछन्।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र ठुलो दर्शकको क्रेजका बाबजुत क्रिकेटको स्टेडियम नभएको यो अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम निर्माणको थालनीले क्रिकेट प्रेमीहरुलाई उर्जा दिएको छ।