जुम्ल्याहा दिदीबहिनी र जुम्ल्याहा दाजुभाइको एकसाथ बिहे, सन्तान पनि एकसाथ जन्माए

जुम्ल्याहा दिदीबहिनी र जुम्ल्याहा दाजुभाइको एकसाथ बिहे, सन्तान पनि एकसाथ जन्माए

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले एकसाथ जुम्ल्याहा दाजुभाइसँग बिहे गरेका थिए । अब यी दिदीबहिनीले बच्चा पनि एकसाथ जन्माएका छन् ।

ब्रिटनी र ब्रायनाले जुम्ल्याहा दाजुभाइ जैश र जेरेमीसँग विवाह गरेका थिए । यी चार जनाको भेट २०१७ मा एक जुम्ल्याहाहरुको कार्यक्रममा भएको थियो । यो भेटको ६ महिनापछि जैश र जेरेमीले ब्रिटनी र ब्रायनालाई प्रपोज गरेका थिए । २०१८ मा यी ४ जनाले सामूहिक विवाह गरेका थिए । ब्रिटनी र ब्रायनाका अनुसार उनीहरु हरेक काम साथमा गर्न चाहन्छन् । उनीहरु साथमा बस्छन्, सबै जन्मदिन साथमा मनाएका छन् । उनीहरु ड्राइभिङ लाइसेन्स लिन पनि साथमै गएका थिए र उनीहरुले कलेजबाट ग्रयाजुएसन पनि साथमै गरेका थिए ।

उनीहरुका अनुसार विवाह पनि साथमा हुनु उनीहरुको लागि निकै भावनात्मक पल थियो । विवाहपनि उनीहरुले साथमै गर्भवती हुने योजना बनाएका थिए र उनीहरुका सन्तान पनि एकसाथ जन्मिए । उनीहरुले भविष्यमा पनि अरु कामहरु साथमा गर्न चाहन्छन् । उनीहरु एक परिवारको रुपमा निकै बलियो बन्धनमा बाँधिएका छन् । उनीहरुको इन्स्टाग्राम पनि एउटै छ जसमा उनीहरुका लाखौं फलोअर छन् । उनीहरु गर्भवती भएपछि कैयौंले उनीहरुका सन्तान पनि जुम्ल्याहा हुन सक्ने भनेका थिए तर त्यसो भएन । यद्यपि बच्चाको लिंग भने एउटै भयो । दुवैले छोरा जन्माएका छन् ।