कैलालीमा हात्तीपाइले आम औषधी २० गते देखि खुवाईदै, सबैलाई औषधी सेवन गर्न आग्रह

कैलालीमा हात्तीपाइले आम औषधी २० गते देखि खुवाईदै, सबैलाई औषधी सेवन गर्न आग्रह

धनगढी । कैलाली जिल्लाभर चैत २० गतेबाट हात्तीपाइले आम औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १३ वटै स्थानीय तहहरुमा चैत्र २० गतेदेखि ३० गते सम्म हात्तीपाइले विरुद्धको ९ औं चरणको आम औषधी खुवाईने अभियान सुरु हुने भएको हो ।  

जिल्लामा ८ लाख ४१ हजार २ सय ०१ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए ।

उनले यो पटक कैलालीमा नवौं चरणको अभियान सञ्चालन गरिएको बताउदैं सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन अनुरोध गरेका छन । खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्न पर्ने बताईएको छ ।

दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने स्वास्थ्य कार्यालयका प्रमुख धामीले जानकारी दिए । जिल्लामा  हात्तीपाइले रोगलाई निवारण गर्न राजनीतिक दल, व्यापारी, कर्मचारी, विद्यार्थी र सञ्चारकर्मी सबैले आ–आफ्नो पायक पर्ने स्थानमा गएर औषधी सेवन गरि सहयोग गर्न प्रमुख धामीले आग्रह गरे ।  

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत विश्वबाट यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
 

हात्तीपाइले रोग कसरी सर्छ ? यसरी थाहा पाउन सकिन्छ

हात्तीपाइले रोग सर्ने भनेको लामखुट्टेबाट हो । कसैको शरीरमा हात्तीपाइले रोगका किटाणु छ कि छैन भन्ने थाहा हुँदैन । हात्तीपाइलेका परजीवी भएकाहरुको शरीरमा रगत चुसेको लामखुुट्टेले स्वस्थ मानिसलाई टोक्दा उक्त किटाणु सार्ने सम्भावना बढी हुन्छ । जुकाको कारणले हात्तीपाइले रोग सर्ने हो । तर हात्तीपाइले रोग सार्ने मुख्य माध्यम भनेको लामखुट्टेबाट हो । लामखुट्टेले टोक्दा परजीवी शरीरमा सरेमा कतिपय व्यक्तिलाई लक्षण देखिँदैन ।

शरीरमा हात्तीपाइलेको परजीवी मसिनो जुका प्रवेश ग¥यो भने रगतको माध्यमले लिम्फ नलीमा गएर बस्छ । त्यसपछि त्यो परजिवी वयस्कमा  परिणत हुनका लागि १ वर्ष लाग्छ । परजीवी वृद्धि विकास भएपछि बल्ल त्यस रोगको असर देखिन सुरु हुन्छ । लिम्फ नलीमा जति समयसम्ममा परजीवी बस्छ, त्यति नै लिम्फ नली नस्ट हुँदै जान्छ । यसरी परजीवी शरीर प्रवेश गर्दा थाहा नहुन पनि सक्छ ।

कसैमा हात्तीपाइले रोगको परजीवी शरीरमा प्रवेश गर्यो भने हात, खुट्टाका नलीमा इनफ्लेमेसन गराउँदा रातो हुने, दुख्ने, ज्वरो आउने, हात खुट्टा छाम्दा तातो हुने जस्ता लक्षणहरु देखापर्ने हुन्छ । यो अवस्थामा  उपचार गराएर औषधि सेवन गरेमा निको हुन्छ । यस्ता प्रभावित व्यक्तिको निकट रहेका व्यक्तिलाई पनि परजीविको संक्रमण सर्ने खतरा बढी हुने भएकोले तिनलाई पनि  औषधि सेवन गराइन्छ ।

शरीरमा प्रवेश गरेको परजीवीको उपचार भएन भने परजीवी हुर्केर वयस्कमा परिणत हुन्छ । ती वयस्क परिजीवी पनि भालेपोथी दुवै हुन सक्ने भएकोले तिनले थुप्रै बच्चा उत्पादन गरेर लिम्फ नलीलाई घेर्न थाल्छ । शरीरमा विशेष गरेर परजीवी राती १० बजेदेखि बिहानको २ बजेका समयकालमा रगतमा बढी सक्रिय हुने गर्छ । यो रगतको माध्यमबाट फोक्सोमा पुगेको छ भने रातीराती खोकी लाग्ने गर्छ ।

शरीरमा हात्तीपाइले रोगको परजीवी भएमा  रातीको समयमा सक्रिय हुँदा लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अर्को व्यक्तिलाई टोकेको खण्डमा सार्छ । कुनै व्यक्तिको शरीरमा परजीवी छ कि छैन भनेर पत्ता लगाउनका लागि राति १० बजे देखि २ बजे बीचको समयमा रगतको नमुना लिएर जाँचुपर्छ । त्यसैले शरीरमा हात्तीपाइले संक्रमण छ कि छैन भनेर जाँच्न त्यति सजिलो नभएकोले आम रुपमा औषधी खुवाइने गरिन्छ जसले गर्दा कसैको शरीरमा परजीवीको संक्रमण छ भने त्यो नष्ट भएर जान्छ ।

हात्तीपाइलेको औषधि लगातार ६ वर्षसम्म अभियानको बेला नछुटाइ खानुपर्छ । यस जुकाको बाँच्ने समय भनेको ६ वर्ष हो । तर, केही व्यक्तिको शरीरमा २० औं वर्षसम्म पनि परजिवी बस्न सक्छ ।  मुटु मृगौलाको रोगका कारण दुवैतिरका खुट्टा सुन्निने गर्छ भने हात्तीपाइलेको समस्यामा प्रायजसो एउटा खुट्टा मात्रै सुन्निन्छ । बेलैमा उपचार भएन भने पछि गएर खुट्टा मोटो हुने वा हात्तीको पाइला जस्तो हुने, घाउखटिराहरु देखापर्ने हुन्छ ।

यो अवस्थामा पुगेका भएका व्यक्तिहरुको रोगको किटाणु मारेर खुट्टालाई पहिलैको अवस्थामा ल्याउन सकिदैन । नली भित्र जुकाको आकार बढ्दै गएपछि बन्द हुन्छ । त्यसपछि रक्त सञ्चार खुट्टाबाट माथि आउन पाउदैन । विस्तारै खुट्टा सुनिदैं जान्छ । त्यसपछि  केहीलाई हाइड्रोशिल देखापर्न सक्छ । शरीरमा चोटपटक, विभिन्न सर्जरी नगरिकन हाइड्रोशिल समस्या देखिन्छ भने हात्तीपाइले रोग हो भनेर शंका गर्न तथा उपचार गर्नु जरुरी छ ।