गाउँ सभा बैठकमा पेश भएका तीन वटा विधेयक पास

गाउँ सभा बैठकमा पेश भएका तीन वटा विधेयक पास

धनगढी : कैलालीको कैलारी गाउँपालिकाको सोमबार बसेको गाउँसभाको बैठकले सभामा पेश भएका तीन वटा विधेयक पास गरेको छ ।

गाउँसभाको तेस्रो विधेयक अधिवेशनको तेस्रो बैठकबाट अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५, बजार अनुगमन निर्देशिका विधेयक २०७५ र स्थानीय कृषि व्यवस्था प्रवद्र्धन विधेयक २०७५ पास गरेको हो ।

यी तीनवटै कार्यविधि पास भएसंगै गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्न, बजार अनुगमन र कृषि क्षेत्रको प्रबद्र्धनमा सहजता हुने जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको गाउँसभाको बैठकमा यसअघि बजार अनुगमन निर्देशिकामाथि गाउँसभाका १३ जना सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

यसैगरी, गाउँसभा बैठकले यसअघि, गाउँपालिकाको ऐन, कार्यविधि, नियमावलीमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन, प्रदेश सरकार सञ्चालन ऐन उल्लेख गर्न छुटेकोमा संशोधन गरेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

यस्तै, संघीय सरकार र प्रदेश सरकारले शिक्षा ऐन नबनाएकाले गाउँपालिकाको शिक्षा नियमवाली स्थगन गरिएको छ । गाउँपालिकाका अध्यक्ष चौधरीले गाउँसभाको अर्को बैठक माघ ११ गते साढे ११ बजे बोलाएका छन् ।

उक्त बैठकमा विशेष र शून्य समयमा गाउँपालिकाको समसामायिक विषयमा चर्चा गरिने प्रवक्ता चौधरीले जानकारी दिए ।