प्रदेश सभा गठनको एक वर्ष : सिकाईमै वित्यो सांसदको एक वर्षे कार्यकाल

प्रदेश सभा गठनको एक वर्ष : सिकाईमै वित्यो सांसदको एक वर्षे कार्यकाल

धनगढी : सुदूरपश्चिम प्रदेशको संसद सचिवालयले सोमवार धनगढीमा प्रदेश सभा स्थापना दिवस मनाएको छ ।

मुख्यमन्त्री, सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख, प्रदेश सांसद, संसद सचिवालयका कर्मचारीहरू लगायतको उपस्थितिमा प्रदेश सभाले चियापान कार्यक्रम आयोजना गरेको हो ।

सुदूरपश्चिम प्रदेशका सांसदहरूले सपथ ग्रहण गरेको एक वर्ष पुगेको अवसरमा प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा सहभागीहरूले शुभकामना आदानप्रदान गर्नुका साथै वर्षभरि प्रदेश सभा र सरकारले गरेको कामको पनि समीक्षा गरेका थिए ।

प्रदेश सांसदहरूले २०७४ माघ ७ गतेका दिन सपथ ग्रहण गरेका थिए । मुख्यमन्त्री त्रिलोचन भट्टले आधारभूत संरचनाहरू तयार भएपछि प्रदेश सभा र सरकारको कामले तीब्रता पाएको बताए ।

देशका सातवटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश एक नम्बरमा रहनुपर्छ भन्ने मान्यता सहित काम गरिरहेको उनले दावी समेत गरे । उनले यस वर्ष पछिल्लो चरणमा आएर प्रदेश मातहतका कार्यालयहरू स्थापना भएको केही कर्मचारी पनि आइसकेकाले बजेट कार्यान्वयनको चरण शुरु भएको जानकारी दिए ।

सभामुख अर्जुनबहादुर थापाले एक वर्षको अवधिमा प्रदेश सभा पूर्ण रूपमा सफल भएको दावी गरे । प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक डा. रणबहादुर रावलले कमिकमजोरीलाई सच्याएर अगाडि बढ्नु सरकारलाई सुझाव दिए ।

उनले कमकमजोरी इंगित गर्नेलाई नजिकको मित्र सम्झेर अगाडि बढ्नुपर्ने बताए । सिकाईमै वित्यो सांसदको एक वर्षे कार्यकाल एक बर्षको अवधिमा प्रदेशको नामाकरण, राजधानी निर्धारण र बिभिन्न ऐनहरु बनाएको प्रदेश सभाले दुईवटा बजेट समेत पारित गरेको छ ।

नया संरचना भएकाले एक बर्षमा जन अपेक्षा अनुसार तीब्र रुपमा काम गर्न नसके पनि प्रदेश सभाले केही महत्वपूर्ण कामहरु गरेको छ । प्रदेश सभाका सत्तापक्ष र प्रतिपक्षमा रहेका सासंदहरुले एक बर्षको अवधि सिकाईमै बितेको बताएका छन ।

प्रदेश सभाका सदस्य, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखको सेवा सुविधा, स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी बिधेयक र दुई वटा बिनियोजन बिधेयक प्रदेश सभाबाट पारित भएका छन् ।

प्रदेश सभाले एक बर्षको अवधिमा प्रदेश सरकारले पेश गरेका १७ वटा ऐनहरु पारित गरेको छ । दार्चुलाबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट निर्वाचित सांसद मानबहादुर धामी पहिलो बर्ष सिकाईमै बितेको बताउछन ।

प्रदेश सभाको एक बर्षमा संसदीय अभ्यासको अनुभव गरिएको र सिकाईमै एक बर्ष बितेको प्रदेश सभाकी अर्की सदस्य पूर्णा जोशीले बताईन् । प्रदेश सभा संगै प्रदेश सरकार समेत बामे सरिरहेको र अबका दिनमा सुदूरपश्चिम प्रदेशमा महिलाका मुद्धाहरुमा आफुहरु केन्द्रित हुने उनको भनाई छ ।

पहिलो बर्षमा संसदीय सभाका बिभिन्न पक्षहरु सिक्न पाएको प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिएकी एक मात्र महिला सासंद देवकी मल्लले बताईन् । जन अपेक्षा अनुसार परणाममुखी काम गर्न नसकेपनि सरकारले समेत राम्रो कामको थालनी गरेको उनको तर्क छ ।

संसदीय अभ्यासमा निकै कुरा सिक्न पाइएकोले पहिलो बर्षलाई आफुले सिकाईको बर्षको रुपमा लिएको उनले बताईन् । सासंद बलदेव रेग्मीले पनि पहिलो बर्षलाई सिकाईकै बर्षको रुपमा लिएका छन ।

सासंद रेग्मीले प्रदेश सभाको लोगो निर्धारण समितिका संयोजक र प्रदेश नामाकरण तथा राजधानीबारे गठित संसदीय सुझाव समितिको सदस्यका रुपमा समेत काम गरेका थिए। नया संरचना भएका कारण उल्लेख्य काम गर्न नसकिएपनि केही महत्वपूर्ण निर्णयहरु प्रदेश सभाले गरेको उनले दावी गरे ।

प्रदेश सभाको बिपक्षी दल नेपाली कांग्रेसका सचेतक टेकबहादुर रैका आउजीले जनताका अगाडि गरेका प्रतिवद्धता पुरा गर्ने तर्फ केही सकारारत्मक कामहरु भएको बताए ।

पहिलो बर्ष संसदीय अभ्यास सिकिएको बताउँदै उनले सरकारको कमजोरीले केही गर्नुपर्ने महत्वपूर्ण कामहरु गर्न नसकिए पनि समग्रमा सकारात्मक काम भएको आफ्नो मुल्यांकन रहेको उनले बताए ।

एक बर्ष सिकाई भएको र आउँदो बर्षदेखि जनताका पक्षमा प्रदेश सभाले काम गर्ने सासंदहरुले बताएका छन् ।