एमाले खनाल-नेपाल समूहले शुक्रबार बोलायो केन्द्रीय कमिटी बैठक

एमाले खनाल-नेपाल समूहले शुक्रबार बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको खनाल–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक बोलाइको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए । राईका अनुसार बैठकमा पार्टीको पछिल्लो विवादका विषयमा नै छलफल हुनेछ ।

गत शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले तीन दिनभित्र जवाफ पेस गर्न भन्दै सोमबार नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।

ओली पक्षले तत्कालीन नेकपामा भएका गतिविधिसमेतलाई जोडेर स्पष्टिकरण मागेपछि खनाल–नेपालसमूहका स्थायी कमिटीका नेताहरु विहिबार पनि छलफलमा बसेका थिए । स्थायी कमिटीका एक सदस्यका अनुसार स्पष्टिकरण पत्रको जवाफ तयार हुँदैछ ।

यो समूहले केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यका समेत सुझाव समेटेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै स्पष्टीकरण माग्ने तयारी गरेका छन् । फागुन २८ मा ओलीपक्षले एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी विस्तार, दशौं महाधिवेशनको मिति तयलगायतका निर्णय गरेको थियो ।

खनाल–नेपालपक्ष उक्त निर्णय फिर्ता लिएर ०७५ जेठ २ कै अवस्थामा जानुपर्ने माग गरेको छ । केन्द्रीय सदस्य ठाकुर गैरेले ०७५ जेठ २ कै अवस्थामा गए सबै विवाद हल हुने बताए ।

तर, ओलीपक्ष भने उक्त निर्णय फिर्ता गर्ने पक्षमा छैनन् । दुवै पक्षका आ–आफ्ना अडानले विवाद उत्कर्षमा पुगेको छ । ओली पक्षले निर्णय नसच्याए खनाल–नेपालपक्षले देशैभर समानान्तर संगठन बनाउने निर्णय गरिसकेको छ ।