कैलालीमा प्रहरीको गोली लागेर घाइते भएका २ जनालाई उपचारका लागि काठमाडौँ रेफर

कैलालीमा प्रहरीको गोली लागेर घाइते भएका २ जनालाई उपचारका लागि काठमाडौँ रेफर

धनगढी । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जनलाई थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । प्रहरीको गोली लागेर घाइते भएका २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्जेल लाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दुवै जनालाई नेपालगन्जबाट काठमाडौँ रेफर गरिएको प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । मङ्गलवार बिहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना. ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्की चुहा नगरपालिका–१ की २२ बर्सिया कमला देवकोटाको मृत्यु भएको थियो । 

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्की मा स्थानीयले प्रदर्शन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

थापाका अनुसार आक्रोशित स्थानीयबासीसँगको झडपमा ५ जना प्रहरी पनि घाइते भएका छन् । ठक्कर दिने बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।