नयाँ व्यवस्थासहित एमाले संसदीय दलको विधान पारित, केन्द्रीय कमिटीबाट अनुमोदन

नयाँ व्यवस्थासहित एमाले संसदीय दलको विधान पारित, केन्द्रीय कमिटीबाट अनुमोदन

संसदीय बोर्डको संख्या बढाउने लगायत केही नयाँ व्यवस्थासहित नेकपा एमालेले संसदीय दलको विधान पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकले परिमार्जनसहित विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । 

शनिवार नै बस्ने केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने उनले जानकारी दिए । ‘नेपालको संविधान, एमालेको विधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूल हुने गरी विधान संशोधन गरेका छौं,’ भट्टराईले भने, ‘नयाँ व्यवस्थामा २७ सदस्य रहेको संसदीय बोर्डमा सदस्य संख्या २९ जना पुर्‍याउने र एकतिहाइ महिला रहने व्यवस्था भएको छ ।’

विधानमा संसदीय दलको उपनेता नेताले मनोनयन गर्ने व्यवस्था गरिएको छ । यसअघि संघीय संसदका दुवै सदनका सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था भएकोमा अब प्रतिनिधि सभाका सांसदहरूले मात्र चयन गर्नेछन् ।