'कमजोरी पत्ता लगाएका छौं, विश्वकपमा सुधार गर्नेछौं'

'कमजोरी पत्ता लगाएका छौं, विश्वकपमा सुधार गर्नेछौं'

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले थाइल्याण्ड वुमन ट्वान्टी–२० स्म्यासको उपाधि जित्न नसके पनि प्रतियोगिताबाट धेरै कुरा सिक्न पाइएको बताएकी छन् ।

“विश्वकप छनोटअघि भएको यस प्रतियोगिताबाट आफ्ना कमिकमजोरी औल्याउने मौका मिलेको छ,” शुक्रबार थाइल्यान्डबाट स्वेदश फर्किने क्रममा रुबिनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भनिन्, “समूह चरणका खेलमा जित निकाल्न सहज भयो ।

तर फाइनलमा आयोजक थाइल्याण्डविरुद्ध खेलाडीहरु मानसिक रुपमा कमजोर हुँदा विजयी नतिजा निकाल्न सकेनौं । हार र जितभन्दा पनि यो प्रतियोगिताबाट अन्य टोलीलाई जाँचेर आफ्ना कमजोरी सुधार्ने मौका पाएका छौं ।” 

छोटो समयको तयारीका बाबजुद नेपाली खेलाडीले थाइल्यान्डमा उत्कृष्ट प्रदर्शन गरेको कप्तान रुबिनाले बताइन् । प्रशिक्षक विनोद दासले पनि लामो समयपछि मैदान फर्किएका खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।

“हामीले धेरै नै सुधार गर्नुपर्ने छ । अब विश्वकप छनोटमा कमजोरी नदोहोर्याउने लक्ष्यसहित तयारी थाल्नेछौं,” प्रशिक्षक दासले भने, “यो प्रतियोगिताले हाम्रो स्तर पत्ता लगाउने मौका दिएको छ ।

अब त्यहाँ भएका कमजोरी सुधार्नु मुख्य चुनौती हो । मलाई आशा छ, बाँकी रहेको समयमा कमजोरी सुधार गरेर विश्पकप छनोट प्रतियोगिता खेल्नेछौं ।”

तीन साताको अभ्यासपछि थाइल्याण्ड गएको नेपाली टोलीले समूह चरण र सेमिफाइनलमा सहज नजिता निकाले पनि फाइनलमा आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएको थियो ।

फेब्रुअरी १८ बाट थाइल्यान्डमै हुने ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले चीन, हङकङ, कुवेत, मलेसिया, युनाइटेड अरब इमिरेट्स (युएई) र थाइल्यान्डसँग राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ। 

फागुनमा हुने आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीस्वरुप थाइल्याण्डले आयोजना गरेको स्म्यासमा १० टोली सहभागी भएका थिए ।