धनगढी : अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आज एक दिनलाई स्थगित गरिएको छ । युवक हत्याको शोकमा महोत्सव स्थगित गरिएको हो ।
शनिबार साँझ महोत्सवबाट घर फर्कने बेला दुई युवा समुह बिच विवाद हुँदा गोदावरी नगरपालिका १ का २० वर्षिय अरुण भट्टको हत्या भएको थियो । घटनामा अन्य ३ जना घाईते भएका थिए ।
महोत्सव स्थल नजिकै घटना भएका कारण एक दिनलाई महोत्सव स्थगित गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए ।
घटनाको सत्यतथ्य छानविनका लागि र शोक स्वरुप महोत्सव एक दिनलाई स्थगित गरिएको उनले जानकारी दिए ।
घटनाको बिरोधमा अत्तरिया बजार समेत बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको छानबिन गरिरहेको जनाएको छ ।