विद्यालयमा राख्नुपर्ने ई-लाइब्रेरी स्थानीय तहको शिक्षा शाखामा

विद्यालयमा राख्नुपर्ने ई-लाइब्रेरी स्थानीय तहको शिक्षा शाखामा

बझाङ । यहाँको एक गैरसरकारी संस्थाले विद्यालयमा जडान गर्नुपर्ने ई-लाइब्रेरी स्थानीय तहको शिक्षा शाखामा राख्न लागेको छ। 

गैरसरकारी संस्था साझा शिक्षा ई(पाटी नामक संस्थाले​ जिल्लाका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई-लाइब्रेरी जडान गर्न लागेको हो। जबकि, संस्थाले बझाङका ४३ वटा विद्यालयमा ९ सय ५० ल्यापटप पनि वितरण गरिसकेको छ।

स्थानीय तहको शिक्षा शाखामा जडान गर्न लागिएको ई-लाइब्रेरीमा कक्षा १ देखि ८ सम्मका डिजिटल शैक्षिक सामग्री राखिने भनिएको छ। ती सामग्री सरकारी कर्मचारी या जनप्रतिनिधि कसले पढ्ने हो, अहिलेसम्म थाहा लागेको छैन। 

साझा शिक्षा ई-पाटीका सिनियर मेनेजर टीकाराज कार्कीले उक्त लाइब्रेरीबाट विद्यार्थीले अध्ययन सामग्री डाउनलोड गर्न गाउँपालिकाको केन्द्रमै आउनुपर्ने बताए।

ई-लाइब्रेरीमा ८ हजार पुस्तक, १५ हजार अडियो र १२ हजार भिडियो सामाग्री सहित ब्रिटिस काउन्सिल लगायतका अभ्यास सामग्रीहरू पनि राखिने संस्थाले जानकारी दिएको छ। ई-लाइब्रेरीमा अनलाइन र अफलाइनमा काम गर्न सकिने कार्कीले बताएका छन्।

शिक्षा मन्त्रालय अन्तर्गतका निकायसँग विगत १२ वर्षदेखि काम गरिरहेको संस्थाले चैत ३ गते थलारा गाउँपालिकाको शिक्षा शाखामा ई(लाइब्रेरी जडान गरिसकेको जानकारी दिएको छ।

कार्कीका अनुसार अहिलेसम्म बझाङका १० वटा स्थानीय तहका शिक्षा शाखामा ई-लाइब्रेरी जडान गरिसकिएको छ र चैत ४ गतेभित्र बाँकी २ स्थानीयतह केदारस्यूँ र बित्थडचीर गाउँपालिकामा जडान गरिसकिनेछ।

सम्पूर्ण विद्यालयहरूमा जडान गर्न कठिन भएकोले बझाङका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई-लाइब्रेरी जडान गर्न लागिएको कार्कीले बताए।