प्रधानमन्त्री ओली र नेपाल पक्षबीच वार्ता : दुवै पक्ष आ-आफ्नै अडानमा

प्रधानमन्त्री ओली र नेपाल पक्षबीच वार्ता : दुवै पक्ष आ-आफ्नै अडानमा

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्ष माधव नेपालसहितका नेताहरूसँग आज पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा छलफल गर्नुभएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भए यता एमालेका शीर्ष नेताबीच छलफल हुन सकेको थिएन ।

नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्च फागुन २३ गरेको फैसलाका कारण तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः स्थापित भएपछि एकिकृत पार्टी भित्रको विवाद नेकपा एमालेमा सरेको छ ।

फागुन २८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको विशेष बैठक गरी पार्टीका नेताहरूको जिम्मेवारीमा हेरफेर र नेकपा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रिय कमिटीमा मनोनीत गरेपछि नेता नेपाल पक्षले समानान्तर गतिविधि गर्दै आइरहेको छ ।

आजको छलफलमा अध्यक्ष ओली र नेता नेपालले आ–आफ्नो अडान राख्नुभएको र नेताहरुबीच विभिन्न तहमा अनौपचारिक र औपचारिक छलफल गरी दुवै पक्षबीच सहमति खोज्ने सहमति भएको नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै माधव नेपाल पक्षका नेता भीम रावलले सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले  र नेकपा माओवादी केन्द्र एकीकरण पूर्वको अवस्थामा फर्किएको फैसला गरेपछि यस बीचको समयलाई शून्य समय मानी पार्टीका सबै गतिविधिहरू सोही विन्दुबाट सुरु हुने र यस बीचमा भएका सबै निर्णयहरू स्वतः निष्क्रिय हुनुपर्ने अडान राखेको बताउनुभयो ।

आजको छलफलमा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, सुभाष नेम्बाङ, प्रदीप ज्ञवाली, भीम रावल घनश्याम भुषाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनुहुन्थ्यो ।