बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं

बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं

धनगढी : निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं गएका छन । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ ।

बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले आरोपित गरिएको थियो भने सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो । स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ ।

सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरु निशानामा परेका हुन् । दिदीबहिनीको मानवअधिकारको प्रश्न उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आलोचित बनेका थिए । प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेन ।

तर पनि बम दिदी–बहिनीमाथि कारवाही गर्नुपर्छ भन्नेहरुको स्वर थामिएन । अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन् । बम दिदीबहिनीले ज्यानको सुरक्षा हुन नसकेपछि राज्यसँग गुहार माग्न काठमाडौं गएको बताएका छन ।

निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको उनीहरुको दाबी छ । साथी निर्मलाको हत्यापछि स्कूल जान छोडेकी रोशनी र उनकी दिदी बबिता हत्याकाण्डको ६ महिनापछि आमा इन्दिरादेवीसँगै काठमाडौं भएका हुन् ।

नेपाल मानवअधिकार संगठनले असोज १० गते स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन भनेर हचुवा विवरण सार्वजनिक गरेको थियो । सो प्रतिवेदनका कारण आफ्ना छोरीहरुले आत्महत्याको प्रयाससमेत गरेको आमा इन्दिराको गुनासो छ ।

मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले केही व्यक्तिले रोशनीकी दिदी बबिता डान्स बारमा पनि जान्थिन् भनेको आधारमा आफूहरुले प्रतिवेदनमा सो कुरा उल्लेख गरेको बताउनुभयो । प्रतिवेदनमा बबिता डान्स बारमा काम गर्छिन् भनिए पनि कुन डान्स बार भन्ने खुलाइएको छैन ।