झुलाघाट नाकामा एक महिनाभित्र १५ सयको स्वास्थ्य जाँच

झुलाघाट नाकामा एक महिनाभित्र १५ सयको स्वास्थ्य जाँच

बैतडी । नेपाल-भारत सीमामा पर्ने झुलाघाट नाकामा पछिल्लो १ महिनाभित्र १५ सयभन्दा धेरैको स्वास्थ्य चेकजाँच गरिएको छ।

गत माघ २५ गतेदेखि हालसम्म १ हजार ५ सय ४४ जनाको स्वास्थ्य चेकजाँच गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार १ हजार २ सय ६८ पुरुष र २ सय ७६ महिलाको स्वास्थ्य जाँच गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ। नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क सञ्चालन गरिएको हो।

सीमा हुँदै आवतजावत गर्ने नागरिकको कोरोना लगायत अन्य परीक्षण र उपचार भइरहेको भट्टले बताए। साथै, हेल्थ डेस्कबाट परामर्श दिने काम पनि भइरहेको छ।

उनले भने, ‘आवतजावत गर्ने व्यक्तिमा कुनै समस्या देखिए डेस्कमा उपचार गर्ने, त्यहाँ सम्भव नभए माथिल्लो स्वास्थ्य संस्थामा रेफर गर्ने काम हुन्छ।’

सीमा नाकामा स्थापना हुने हेल्थ डेस्कले सीमाबाट आवतजावत गर्ने नागरिकलाई स्वास्थ्य परीक्षणका लागि सहज भएको छ। हेल्थ डेस्कमा तत्कालका लागि एकजना हेल्थ असिस्टेन्ट, एकजना अनमी र एक जना कार्यालय सहयोगी खटाइएको छ।

हेल्थ डेस्कबाट स्वास्थ्य चौकी स्तरकै सेवा प्रदान भइरहेकोले स्थानीय नागरिकलाई पनि सेवा प्रदान भइरहेको छ। वरिपरिका अन्य नागरिकलाई पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

कोरोना कहरले गर्दा गत चैतदेखि बन्द रहेको झुलाघाट नाका माघ २४ गतेदेखि सञ्चालनमा आएको हो। सीमामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र परिचयपत्र देखाउन अनिवार्य गरिएको छ।