कलम किन्न जानेक्रममा आफुमाथी सामूहिक बलात्कार भएको बताउने बालिका गएकी थिईन प्रेमी भेट्न

कलम किन्न जानेक्रममा आफुमाथी सामूहिक बलात्कार भएको बताउने बालिका गएकी थिईन प्रेमी भेट्न

कञ्चनपुर ।  कञ्चनपुरमा १४ वर्षीया बालिकाले आफूमाथि सामूहिक बलात्कार गरिएको भन्दै बनावटी घटना रचेको खुलेको छ। ति बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्ने खबर २४ घण्टा नबित्दै झुटो साबित भएको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्ती बस्ने १४ बर्सिया एक बालिकाले शुक्रवार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा मोटरसाइकलमा आएका ३ जना युवकहरूको समूहले आफूलाई अपहरण गरी अज्ञात स्थलमा लगेको र मध्यरातमा सोही ठाउँमा छोडेर गएको भनी दिएको बयान बदलेकी छन् ।

मध्यरात घर भन्दा करिब ३०० मिटर टाढा सडक छेउमा त्रसित अवस्थामा फेला परेकी ती बालिकाले प्रहरी र परिवारजनलाई दिएको बयान शनिवार साँझ फेरेकी छन् । आफू कलम किन्ने निहुँमा घरबाट निस्केर प्रेमीसँग भेट्न निस्केको र त्यस क्रममा अबेर राति हुँदा घरपरिवारको डर त्रासले झुटो बयान दिएको उनको स्पष्टोक्ति छ ।

बालिका हराएको भन्ने खबर पाउनासाथ शुक्रवार रातिदेखि नै अनुसन्धानमा खटिएको प्रहरी टोली समक्ष बालिकाले दिएको पहिलो बयानका आधारमा शनिवार साँझसम्म व्यापक प्रहरी परिचालन गरी अनुसन्धानलाई तीव्रता दिइएको भए पनि अन्ततः बालिकाले घटनालाई तोडमोड गरेर बयान दिएको पुष्टि भएको छ ।

त्यस क्रममा बालिकाका प्रेमी भनिने एक जना किशोरमाथि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । ती किशोरको स्वास्थ्य परीक्षण पश्चात् थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।