एमालेमा समानान्तर कमिटी : सुदूरपश्चिममा भीम रावललाई इन्चार्ज तोकियो

एमालेमा समानान्तर कमिटी : सुदूरपश्चिममा भीम रावललाई इन्चार्ज तोकियो

सत्तारुढ नेकपा एमाले विभाजनतर्फ अघि बढेको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि सातै प्रदेश इन्चार्ज र विभागीय प्रमुख तोकेको हो।

हिजोदेखि बसिरहेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले सातै प्रदेशको इन्चार्ज र विभाग प्रमुख तोकेको हो। एमालेका एकजना नेता विष्णु रिजालका अनुसार बहुमत स्थायी कमिटी सदस्यहरुले यसबारेमा वक्तव्य निकाल्दैछन्।  

माधव नेपाल पक्षले प्रदेश १ मा भीम आचार्यलाई इन्चार्ज बनाएको छ भने सुदूरपश्चिममा भीम रावललाई जिम्मेवारी तोकिएको छ। शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर प्रदेश इन्चार्ज र विभागीय प्रमुख तोकेका थिए। 

त्यसविरुद्ध हिजो नै आकस्मिक स्थायी कमिटी बैठक राखेर माधव पक्षले समानान्तर कमिटी निर्माण चेतावनी दिएको थियो। ओली पक्षको निर्णय आएको एक दिनमै नेपाल पक्षले समानान्तर कमिटी अभ्यास थालेको हो। 

स्थायी कमिटी बैठकमा ओली पक्षले कारवाही गरेको सन्दर्भमा खोजिने कानुनी विकल्पहरुबारेमा अधिवक्ताद्वय गोविन्द बन्दी र टीकाराम भट्टराईले नेताहरुलाई जानकारी गराएका छन् ।

प्रदेश इन्चार्ज

प्रदेश १- भीम आचार्य, २- घनश्याम भुसाल, बागमती : अष्टलक्ष्मी शाक्य, गण्डकी : सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली : युवराज ज्ञवाली, सुदूरपश्चिम : भीम रावल

विभाग प्रमुख

युवा : रघुजी पन्त, विद्यार्थी : गोकर्ण विष्ट, प्रचार : योगेश भट्टराई, महिला : अष्टलक्ष्मी शाक्य, बुद्धिजीवी : प्रमेश हमाल