नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक सकियो

नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक सकियो

नेकपा एमालेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक सकिएको छ। ओली समूहको शुक्रबारको बैठकले एक पक्षीय रुपमा पदाधिकारीको जिम्मेवारी हेरफेर तथा केन्द्रीय सदस्य मनोनीत गरेपछि यो समूहको स्थायी कमिटी बैठक बसेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। 

उनले भने‚ ‘ओली पक्षीय बैठकले गरेका निर्णयहरूमा असहमति जनाउँदै पार्टीका विभिन्न कमिटीमा मनोनीतको काम समेत केन्द्रीय कमिटी बैठकले गर्न सक्छ।’ स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेको उनले बताए।

ओलीले एकलौटी निर्णय गरेपछि शुक्रबार साँझ पनि नेपाल–खनाल समूहका स्थायी कमिटी बैठक बसेको थियो। बैठकले बालुवाटारमा ओली समूहले गरेका निर्णयहरु अस्वीकार गर्ने निर्णय गरेको थियो। बैठकमा उपस्थित नेताहरुले ओलीले पेलेर जाने भए समानान्तर कमिटी बनाउन सुझाव दिएका थिए।

ओली पक्षले बालुवाटारमा बोलाएको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादी केन्द्रबाट एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।