सेती प्रादेशिक अस्पतालमा मेरुदण्डको शल्यक्रिया शुरू

सेती प्रादेशिक अस्पतालमा मेरुदण्डको शल्यक्रिया शुरू

धनगढी । सेती प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा शुरू भएको छ । विगत डेढ महिनादेखि कैलाली अस्पतालमा सेवा दिँदै आइरहेका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा. ज्ञानेन्द्र जोशीको नेतृत्वमा अस्पतालमा सेवा शुरु गरिएको हो ।

गत शुक्रबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ४५ वर्षीया महिलाको डाक्टर जोशीको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको जनाइएको छ । कञ्चनपुरकी ४५ वर्षीया विष्नादेवी साउदको रुखबाट लडेका कारण घाँटीको हड्डी भाँचिएर नसा च्यापिएको थियो ।

उनको पछाडी काँटेर नशामा किल्ला लगाएर हड्डी र नसा सिधा पारिएको डाक्टर जोशीले बताए । डाक्टर जोशीले सेती प्रादेशिक अस्पतालमा जनशक्ति, आवश्यक उपकरण अभाव लगायतका समस्या रहेको बताए । उनले अस्पतालले आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न प्रयास गरिरहेको प्रतिक्रिया दिएको बताए ।