तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्न आयोगसमक्ष दाहाल-नेपाल समूहको माग

तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्न आयोगसमक्ष दाहाल-नेपाल समूहको माग

नेकपा दाहाल-नेपाल समूहले पार्टीको आधिकारिकताको विषयमा तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्न निर्वाचन आयोगसमक्ष माग गरेको छ । 

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले तत्काल राज्यको कानुन, नेकपाको विधान र लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम निष्पक्ष एवं न्यायसंगत निर्णय गर्न आयोगसमक्ष माग गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भिम रावलले जानकारी दिए ।

प्रक्रिया पूरा गरेर पार्टीको आधिकारिकताको विषयमा अविलम्ब निर्णय गरिदिन पटक-पटक आग्रह गर्दा पनि निर्वाचन आयोगले अहिलेसम्म निर्णय नलिएको भन्दै बैठकले खेद प्रकट गरेको उनले बताए ।

'नेकपाको अत्यधिक बहुमत सदस्यहरुको उपस्थितिमा बसेको विधिवत् बैठकबाट निर्णय गरी पार्टीको आधिकारिकताको विषयमा अविलम्ब निर्णय गरिदिनुहुन पटक-पटक निर्वाचन आयोगमा निवेदन दिएको, प्रतिनिधिमण्डल गएर कुराकारी गरेको विदितै छ ।

अहिलेसम्म पनि हाम्रो पक्षमा, बहुमत केन्द्रीय सदस्य हुँदाहुँदै, नेकपाको कानुनबमोजिम, लोकतान्त्रिक मान्यताअनुसार हामीले स्पष्ट माग गर्दा पनि अहिलेसम्म जानकारी नआएकोमा बैठकले खेद प्रकट गरेको छ,' उनले भने ।

नेता रावलका अनुसार आयोगले ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो भन्ने कुरालाई समेत ध्यान दिनुपर्छ भन्नेमाबैठकले स्मरण गराएको छ ।