बाजुरामा यस बर्ष मात्र रोपिए १ लाख २५ हजार फलफूलका बिरुवा

बाजुरामा यस बर्ष मात्र रोपिए १ लाख २५ हजार फलफूलका बिरुवा

बाजुरा । बाजुरा जिल्लामा यस बर्ष मात्रै १ लाख २५ हजार फलफूलका बिरुवा रोपिएका छन्। गत वर्षहरू झैँ यो बर्ष पनि सरकारी अनुदान र किसानको लागतमा  १ लाख २५ हजार बिरुवा रोप्ने काम भइरहकाे कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैशीले बताउनु भएको छ।

गरिबी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले वि. स. २०७७ साल लाई फलफूल रोपण वर्ष घोषणा गरी वृहत् रुपमा फलफूल बिरुवा रोप्ने अभियान सञ्चालन गरे अनुरूप यस वर्ष १ लाख २५ हजार हिउँदे फलफूलका बिरुवा रोपेर ५०० हेक्टर क्षेत्रफलमा फलफूलको क्षेत्र विस्तार भएको सूचना अधिकारी जैशीले बताउनुभयो । यी बिरुवा सङ्ख्या विगतका वर्षको तुलनामा करिब पाँच गुणाले बढी रोपिएका छन्।

यस वर्ष जिल्लामा विजु ओखर १९ हजार ५०, कलमी ओखर ९ सय टर्कीबाट ल्याइएको च्यान्दलर जातको १ वर्षमै फल्ने ओखर २१ हजार २सय ५० वोट रोपिएको छ भने १ वर्षमै फल्ने फुजि र गाला जातको स्याउ ४ हजार ८ सय अन्य जातको स्याउ, किवी, र नास्पाती/आरु/आरुवखडा गरेर जम्मा १ लाख १५ हजार फलफूल बिरुवा रोपिएको  छ भने १० हजार जङ्गली मेलका वोटलाई कलमी गरी नास्पाती बनाइएको सूचना अधिकारी जैशीले जानकारी दिनुभएको छ।