बझाङको बित्थडचिरमा पहिलो चाउमिन उद्योग सञ्चालनमा

बझाङको बित्थडचिरमा पहिलो चाउमिन उद्योग सञ्चालनमा

बझाङ । बझाङको बित्थडचिरमा पहिलो पटक चाउमिन उद्योग सञ्चालन भएको छ । बित्थडचिर गाउँपालिका–५ का गणेश बोहराले पहिलो पटक चाउमिन उद्योग सञ्चालन गरेका छन् । विगत करिब एक दशक देखि विभिन्न व्यवसाय गर्दै आएका बोहराले माघ २३ गतेबाट बित्थडचिरको देउलेख बजारमा पहिलो चाउमिन उद्योग सञ्चालन गरेका छन् ।

उद्यमी बोहरा नेपाल आर्मीमा जागिरे थिए । नेपाल आर्मीको जागिरबाट अवकाश पाएपछि देउलेख बजारमा पसलका साथै कृषि पेसालाई पनि अँगाल्दै आएका छन् । आफूमा भएको ज्ञान, सीप खेर नफाली सानै भएपनी व्यवसाय सञ्चालन गर्नुपर्छ भनेर चाउमिन उद्योग सञ्चालन ल्याएको उनको भनाइ छ ।

अहिले बजारमा नास्ताको रुपमा चाउमिन बढी खपत हुने भए पनि गाउँपालिकामै चाउमिन फ्याक्ट्री थिएन, उद्योग नभएको ठाउँमा उद्योग खोल्दा एकदमै सजिलो भएको र बित्थडचिरमै चाउमिन उद्योग खोलिए पछि धनगढीकै चाउमिन र ससका भरमा बस्नु पर्ने बाध्यता हटेको होटेल व्यवसायीको भनाइ रहेको छ ।

बैतडी जिल्लाको ढोल्यामोड, श्रीभावर सिगास गाउँपालिकामा र बित्थडचिर भरी बढिजसो आफ्नै चाउमिन खपत हुने उद्यमी बोहराको भनाई छ । यो भन्दा पहिले धनगढीबाट धेरै चाउमिन र सस ल्याउनु पर्थ्यो र म्याद जाने र सड्ने सम्भावना हुन्थ्यो । अहिले आफैले उत्पादन गरेको चाउमिन स्थानीय बजारमा ल्याएपछि सेवाग्राहीहरूलाई ताजा चाउमिन जुनसुकै समयमा पनि मिल्ने भएकाले सहज भएको समेत बताएका छन् ।