कञ्चनपुरमा शिक्षकको रिहाईको माग गर्दै महाकाली मा.वि का शिक्षक आन्दोलित

कञ्चनपुरमा शिक्षकको रिहाईको माग गर्दै महाकाली मा.वि का शिक्षक आन्दोलित

कञ्चनपुर । कञ्चनपुरमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकको रिहाईको माग गर्दै महाकाली माध्यमिक विद्यालयका शिक्षक आन्दोलित भएका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा फागुन ७ गते पक्राउ गरिएको थियो। 

तर ती शिक्षकलाई सुनियोजित ढंगबाट फसाएर कानुन विपरित पक्राउ गरिएको भन्दै विद्यालय परिवारले विरोध जनाएको छ। उनीहरुले विरोध स्वरुप आइतबार र सोमबार हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए। आज शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर पेन डाउन गरि आरोपित शिक्षकको रिहाईको माग गरेका छन्।

शिक्षक ढुंगानाको रिहाईका लागि सरोकारवाला तथा शिक्षकका पेशागत ट्रेडहरुमा आग्रह गरिसकेको र आगामी विरोध कार्यक्रम समेत गरिने महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशसिंह भण्डारीले बताए।