कैलालीमा युवक हत्या प्रकरण : ४ दिनसम्म हत्याराको पहिचान भएन, शव नबुझ्ने अडान

कैलालीमा युवक हत्या प्रकरण :  ४ दिनसम्म हत्याराको पहिचान भएन, शव नबुझ्ने अडान

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ घर भएका व्यापारी ३६ वर्षीय शिवचरण राना मृत फेला परे । गेटामा किराना पसल चलाउने रानाको शव शनिवार फेला परेको थियो । उनी आँखा अस्पताल नजिकै किराना पसल चलाउँथे, राति पसलमा सुत्थे । बिहान घर जान्थे ।

तर, फागुन १५ मा घर नगएपछि पत्नी सुगुनी उनको खोजीमा निस्किइन् । गेटा मेडिकल कलेज नजिकै निर्माणाधीन नालामा उनको शव भेटियो । ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेमबहादुर शाही र जिल्ला प्रहरी कार्यालयको टोलीले घटना अनुसन्धान गरिरहेका छन् । तर, प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न सकेको छैन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले जानकारी दिए । डिएसपी विष्टकाअनुसार ६ जनामा केन्द्रीत रहेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि परिचालन गरेको थियो ।

मृतकका परिवारले हत्यामा संलग्न पत्ता नलगाए सम्म शव जिम्मा नलिने अडान राखेका छन् । शिवचरणको शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।