किन मनाउँदैछन् डोटेलीले आज कालो दिन?

किन मनाउँदैछन् डोटेलीले आज कालो दिन?

डोटी  ः माघ ३ गते डोटीका लागी कालो दिन मनाइने भएको छ। बिरोध स्वरुपमा बिहिबार अपरान्ह ४ बजे हातमा कालोपट्टी बाँधेर जुलुस प्रर्दशन हुने कार्यक्रम रहेको उद्योग बाणिज्य संघ डोटीका महासचिब दिपकबहादुर खड्काले जानकारी  दिए। 

तत्कालिन नेपाली काँग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछी डोटेली जनताले कालो दिनको रुपमा मनाएका हुन्।

सुदूरपश्चिम बिकास क्षेत्रको क्षेत्रिय सदरमुकाम रहेको दिपायललाई बेवास्तागरी राजधानी कैलाली तोकिएको भन्दै डोटीमा ६४ दिनसम्म आन्दोलन भएको थियो।  

६ सय वर्ष डोटीको प्रशासनिक तथा राजनैतिक इतिहास समाप्त भएको दिन भएकाले डोटीका लागि माघ ३ गते कालो दिन भएको दिपायल राजधानी संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताए। 

२०७४ साल माघ ३ गते तत्कालीन देउवा नेतृत्वको सरकारले कैलालीको धनगढी अस्थायी मुकामको रुपमा घोषणा गरेको थियो।

निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाको सरकारले डोटी राजधानी बनाउला भन्ने आश गरेका जनतालाई देउवाको नेतृत्वको सरकारले जस्तै पनि कैलालीको अत्तरियामा स्थायी राजधानी बनाउने निर्णय गरेर डोटीका विपक्षमा निर्णय गरेको थियो। 

देउवा नेतृत्वको सरकारको बेलामा डोटीबाट निर्वाचित सांसद विरबहादुर बलायर भौतिक पुर्वाधार तथा यातायात मन्त्री थिए भने नेकपा सरकारले निर्णय गर्दा डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्ट मूख्यमन्त्री थिए।

डोटीबाट निर्वाचित सांसद नै शक्तीमा भएको अबस्थामा डोटीका बिपक्षमा निर्णय हुन जनताको मतको अपमान भएको डोटेली जनताले आरोप लगाएका छन्।