काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको चक्रव्युहलाई तोड्न चुनाव घोषणा गरिएको दाबी गरेका छन्। ७१औं प्रजातन्त्र दिवसका अवसरमा शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित साहित्यिक तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्। ‘बढो गम्भीर ढंगले, परापूर्वकाल देखिका अनुभवहरु संगालेर चक्रव्यूहको निर्माण गरिरहेका थिए। त्यो चक्रव्युहको अन्तिम समयमा त्यो तोडियो’, ओलीले भने।
प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा संविधान कहाँ नेर मिचियो भनी ओलीले प्रश्न गरेकोसमेत उल्लेख छ। ‘बहुमतको पार्टी फुटाउने चक्रव्युह थियो त्यहाँ। पार्टी फुटाउने र अल्पमतका टुक्राहरु जोडेर, महेन्जोदारो र हरप्पा उत्खनन् गरिएका टुक्राहरु जोडेर अस्थिरताको एउटा लहर सिर्जना गर्ने’, ओलीले भने। यसकार्यमा देशलाई अस्थिरताको भूमरीमा हराइरहेको कुहिराको काग बनाएर रुमल्याउने उद्देश्य निहित रहेको भनाई पनि प्रधानमन्त्रीको थियो। ‘यी प्रयासहरुलाई सफल हुन दिइएन र फेरि ताजा जनादेशमा जानुपर्यो। संविधान काहाँ नेर मिचियो?’, प्रधानमन्त्रीको प्रश्न थियो।
निर्वाचन गराउने जिम्मेवारी पाएका निकायबाट जनताले थाहा पाउने गरी निर्वाचनको तयारी हुनु पर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो।
देशको स्वाधिनता व्यवहारिक रुपमै कार्यान्वयन गरिनुपर्ने विचार व्यक्त गर्दै प्रधानमन्त्रीले भौगोलिक अखण्डतालाई कायम राख्न देशको भूमि सग्लो रुपमा आफ्नो गराइने पनि बताए। ‘राष्ट्रवाद हात्तीको देखाउने दाँत होइन। राष्ट्रवाद चिप्लेकीराको सिंङ जस्तो मौका मिले देखाउने र नमिले भित्र लुकाउने हुँदैन। राष्टवाद एउटा निष्ठा र कर्तव्य हो’ , ओलीले भने।