कतै माघी मेला, कतै माघी महोत्सव त कतै माघी मिलन समारोह आयोजना गरिदै

कतै माघी मेला, कतै माघी महोत्सव त कतै माघी मिलन समारोह आयोजना गरिदै

धनगढी : कैलाली कञ्चनपुरका थारु समुदायमा नयाँ वर्षको रुपमा मनाईने माघी पर्वको रौनक सुरु भएको छ । परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने कैलाली कञ्चनपुरका थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको हो ।

ठाउँठाउँमा माघीमा मेला गरेर थारु समुदाय माघी मनाउन थालेका छन् । घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई थारु समुदायले सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन र विकासका लागि माघी मेला, माघी महोत्सव र माघी मिलन समारोह आयोजना गरी मनाउन थालेका हुन् ।

माघीको अवसर पारेर कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु कल्याणकारिणी सभा बेलौरीको आयोजनामा शुक्रबार प्रथम बेलौरी माघी मेला सुरु भएको छ । तीन दिनसम्म चल्ने मेलाको खानेपानी मन्त्री बीना मगरले उद्घाटन गरेकी थिइन् ।

थारु कल्याणकारिणी सभा गोदावरीको आयोजनामा माघ ५, ६ र ७ गते कैलालीको गोदावरी नगरपालिका–८, मजगाउँमा माघ महोत्सव २०७५ हुँदैछ ।

त्यसैगरी धनगढी नगरपालिका–९, बंगरा गाउँमा भल्मन्सा बुद्धिराम चौधरीको अगुवाईमा पुष ३०, माघ १ र २ गते माघी मेला आयोजना हुने भएको छ भने धनगढी नगरपालिका–६ जालीमा पनि गाउँलेले सोही अवधिमा माघी मेला आयोजना गर्न लागेका छन् ।

यी सबै मेलाको मुल उद्देश्य माघीलाई भव्य रुपमा मनाउने नै छ । मेलाहरुमा मुल आकर्षणको रुपमा थारु नाच, खानाका परिकार, प्रदर्शनी, थारु गाउँ, थारु समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको सामग्रीहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेका छन् ।

बंगरामा आयोजना हुने माघी मेलाका प्रवक्ता रामनारायण चौधरीले स्थानीय बयरकोटको बयर चट्नी र चौफेरी तालको माछा, घोंङी, गंगटो समेतको स्वाद मेलामा लिन पाइने बताए ।

मजगाउँमा आयोजना हुने मेलाका कार्यक्रम संयोजक माधव चौधरीले मेलामा माघीमा थारु समुदायले बनाउने ढिक्री, घोंङी, माछा, बंगुरको मासु, मुसाको मासु, तरुल, सकरखण्डको स्वाद लिन पाइने बताए ।

उनले मेलामा माघीको नाच, झुम्रा, सखिया नाच, धमार लगायतका पौराणिक सांस्कृतिक कार्यक्रम हुनाका साथै थारु कलाकारहरुको आधुनिक गीत र नाचको प्रस्तुती समेत रहने जानकारी दिए ।मेलामा थारु संस्कृतिको प्रदर्शनीका साथै स्थानीय कृषि उत्पादनको प्रदर्शनी समेत रहने बताइएको छ ।