वर्तमान अवस्थामा थारु संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ : मन्त्री मगर

वर्तमान अवस्थामा थारु संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ : मन्त्री  मगर

बेलौरी : कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रममा पुग्नुभएका नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरले विश्व धुर्विकरण भईरहेको वर्तमान अवस्थामा गाउँगाउँ हुँदै देशदेश बिच संस्कारहरु तथा परम्पराहरु आदानप्रदान भईरहेको बताउदैँ थारु संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको बताउनुभयो । उहाँले घरआँगनमा सिमित भएको माघी पर्व अब मेला र महोत्सवको रुपमा विकास भएको जिकिर गर्नुभयो । उहाँले कञ्चनपुरको क्षेत्र नम्बर १ आफ्नै निर्वाचन क्षेत्रमा माघि खेल्न आएको बताउनुभयो ।

उहाँले चौधरी समुदायमा देखिएको सिकल सेल एनिमियाको परिक्षण र उपचारमा सरकार गम्भीर रहेको जानकारी गराउनुभयो । उहाँले विकासका काममा प्रतिपक्षीले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

मन्त्री मगर थारु परिरनमा मञ्चमा पुग्नुभएको थियो । कार्यक्रममा उहाँले माघी मेलाका अवसरमा सबै आम नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । मन्त्री मगर यसै क्षेत्रबाट प्रतिनिधिसभामा  प्रत्यक्ष निर्वाचित सांसद हुन । थारूहरूको महान पर्व माघे सकान्तिको अवसरमा थारू कल्याणकारिणी सभा बेलौरी नगर समितिले आयोजना गरेको यस माघी मेला ३ दिन सम्म चल्नेछ ।  

कार्यक्रममा उपस्थित कार्यक्रमका बिशिस्ट अतिथि प्रदेश सभा सदस्य सांसद कुलवीर चौधरीले थारु संस्कृतिलाई जगेर्ना गर्न सबैलाई आह्वान गर्नुभयो । उहाँले थारु संस्कृति, खाना, रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

“थारू एकता हमार सान, शिक्षा भाषा सँस्कृती पौर्हैटी लैजीना हमार अभियान” भन्ने मुल नाराका साथ बेलौरीमा पहिलो पटक आयोजना भएको बृहत् मेलामा जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीको जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनुभयो । 

तराईका चौधरी समुदायमा देखिने वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्ध रोग सिकल सेल एनिमिया’का कारण धेरैले ज्यान गुमाउनु परिरहेको सिकल सेल एनिमिया रोग न्यूनीकरण समिति बेलौरीका संयोजक पिताम्बर चौधरीले बताउनुभयो । उहाँले रोगको पहिचान गर्दै ल्याव तथा औषधिउपचारमा निशुल्क व्यवस्था गर्न नेपाल सरकारलाई खानेपानी मन्त्री वीना मगरमार्फत आग्रह गनुभयाे ।

मेलामा थारू खानाका परिकार बंगुरको मासु, माछा, बयरको चटनी, ढिक्री, सिन्की, तिलको अचार, जाँडको झोल आदी राखिएका छन । 

कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्किने झाँकी, मघौटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको छ ।

छुट्टै पहिचान बोकेको थारु संस्कृतिको जगेर्नागर्दै नयाँ पुस्तालाई आफ्नो कलासंस्कृति प्रतिको सम्मान र सम्बर्द्धन गर्न मेला आयोजना गरिएको थारू कल्याणकारिणीसभा बेलौरी नगर संयोजक खड्ग बहादुर चौधरीले जानकरी गराउनुभयो ।

थारु समुदायको बाहुल्यता भएको कञ्चनपुर जिल्लाको पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीका १० हजार भन्दा धेरैले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वाले जानकारी गराउनुभएको छ ।