सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरण गर्न संकल्प गरौँ : सभापति देउवा

सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरण गर्न संकल्प गरौँ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरण गर्न संकल्प गर्न आग्रह गरेका छन् ।

आज (शुक्रवार) शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाललाई सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न शहीद सप्ताहले प्रेरणा दिने विश्वास समेत व्यक्त गरेका छन् ।

“आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौँ ।” सभापति देउवाले भने, “मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”

त्यस्तै लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुन्छ, यसबाट नै विद्यमान विसंगतिहरुको अन्त्य हुने बताए ।

नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरुमा श्रद्धा व्यक्त गर्न, उनीहरुको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न आज हामी ‘शहीद दिवस’ मनाइरहेको बताए ।