च्यासलको फराकिलो जित

च्यासलको फराकिलो जित

धनगढी : भ्याली च्यासल युवा क्लबले तेस्रो नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत तेस्रो खेलमा दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरे ।बिहिबार धनगढी रंगशालामा च्यासलले खेलको१४ औं मिनेटमा अग्रता लिएको थियो ।

एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अगाडि बढाए । ३१ औं मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो ।

४० औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मन्दिपले बचाउन सकेनन् ।

दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दवाव कायम राख्यो । ६१ औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अगाडी बढाए ।७३ औं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० ले अगाडी बढ्यो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए ।खेलको आरके कन्स्ट्रक्सन ’म्यान अफ द म्याच’ बनेका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे।

यस जितसँगै च्यासलले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । च्यासलले अब रुस्लान थ्रीस्टारको सामना गर्नेछ । विजयी टोलीका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भएपनि डेब्यु गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेपछि जित सम्भव भएको बताए ।

पराजित टोलीका प्रशिक्षक बिएस मेहेराले पहिलो रोजाईका ६ खेलाडी भारतमा व्यस्त भएको हुँदा सोचेअनुरुप खेल्न नसकेको बताए ।

शुक्रबार हुने खेलमा रुपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सीएमजी क्लब संकटाको सामना गर्नेछ ।

मोफसलकै सर्वा्िधक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५ १५ हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।