सुदूरपश्चिम प्रदेशमा १० वटा खोप केन्द्रमार्फत कोरोना विरूद्धको खोप लगाइने

सुदूरपश्चिम प्रदेशमा १० वटा खोप केन्द्रमार्फत कोरोना विरूद्धको खोप लगाइने

धनगढी । सुदूरपश्चिममा १० खोप केन्द्रमार्फत् बुधबारदेखि कोरोनाविरूद्धको खोप लगाइने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय सरकारबाट प्राप्त भएको खोप धनगढी पुगेको जनाउँदै बुधबारदेखि खोप लगाउन सुरू हुने जनाएको छ।

प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरूद्ध  १६ हजार २ सय ९३ जनालाई पुग्ने खोपको मात्रा प्राप्त भएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्कीले बताए।

‘सुदूरपश्चिम प्रदेशमा ३५ हजार १ सय ७० खोपको मात्रा उपलब्ध भएको छ,’ उनले भने। खोप लगाउन प्रदेशभर १० केन्द्र तोकिएको उनले बताए। 

कार्कीले कैलालीमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको बताए। यस्तै, अरू आठ जिल्लाका जिल्ला अस्पतालबाट लक्षित वर्गलाई खोप दिइने उनले बताए।