डडेलधुरामा पाँच जना व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर

डडेलधुरामा पाँच जना व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर

डडेलधुरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेलधुराले पाँच जना व्यापारीविरुद्ध डडेलधुरा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पार्ने खालका खाद्य पदार्थ बिक्री गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

खाद्य कार्यालयले खाद्य ऐन, २०२३ अनुसार अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय, डडेलधुराको राय अनुसार मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेलधुराका प्रमुख गणेशदत्त जोशीले जानकारी दिनुभयो ।

प्रमुख जोशीका अनुसार अमरगढी नगरपालिका–५ बागबजारस्थित निर्मला खुद्रा किराना पसललाई न्यून गुणस्तरीय चनाको दाल बिक्री वितरण गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै अमरगढी–५ बागबजारकै मदन प्रकाश किराना पसललाई न्यून गुणस्तरीय गहत गेडा बिक्री वितरण गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।

त्यसै गरी अमरगढी–५ बगरकोट रोडस्थित भागेश्वर स्टोरलाई न्यून गुणस्तरीय खाद्य पदार्थ धनिया गेडा बिक्री वितरण गरेको अभियोगमा, अमरगढी–४, खलङ्गास्थित रावल किराना पसललाई न्यून गुणस्तरीय खाद्य पदार्थ चामल बिक्री र अमरगढी–५ बागबजारस्थित ओम बाबा स्टोरलाई न्यून गुणस्तरीय खाद्य पदार्थ मटर गेडा बिक्री वितरण गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरिएको प्रमुख जोशीले जानकारी दिनुभएको छ ।

खाद्य ऐनमा दूषित वा न्यून गुणस्तरको खाद्य पदार्थ बिक्री वितरण गरेमा वा ढाँटी वा झुक्यानमा पारी खाद्य पदार्थको स्वाभाविक गुण कमसल भएको खाद्य पदार्थ बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रमुख भट्टको भनाइ छ ।