सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले दियो साथ

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले दियो साथ

धनगढी । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो । 

स्पोर्टस अवार्डमा दिइने ९ वटा विधा मध्येको सुदूरपश्चिम आईकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष अवार्ड हुने भएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावद र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरेका छन् ।

सम्झौता तथा हस्ताक्षर कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल र किर्तिमानी खेलाडी ओलम्पियन दिपक बिष्टको पनि सहभागीता रहेको थियो । यो अवार्डको थप गरिएको विधा हो । यस विधा अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल महिला खेलाडीलाई अवार्ड प्रदान गरिनेछ ।

तीन जना खेलाडीको मनोनयन सार्वजनिक गर्दै चैत ६ गते एक जनालाई नगद २० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्नका लागि नयाँ अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले बताए ।

उनले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । सावद नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रीय सदस्य हुन उनी लामो समयदेखि खेलकुद क्षेत्रमा अग्रसर रहदै आएका छन् ।

‘माया मेट्रो’ अस्पतालले प्रायोजन गरेर साथ दिँदा अवार्डलाई अझ भव्य रुपमा सफल पार्नका लागि मद्दत मिल्ने मञ्चका अध्यक्ष ओझाले बताए । धनगढीमा २५ करोडभन्दा बढीको लगानीमा अत्याधुनिक सेवा सुविधा सहितको ‘माया मेट्रो’ अस्पताल स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।