फोटोसहितको मतदाता नामावली संकलन शुरु

फोटोसहितको मतदाता नामावली संकलन शुरु

डोटी जिल्लामा फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो ।

जिल्लामा निर्वाचनसम्बन्धी गतिविधिहरु व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख दलबहादुर मलासीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौं, निर्वाचनको तयारीका विषयमा सरोकारवालाहरुसँग छलफल पनि भइरहेको छ ।’

आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेकोसमेत प्रमुख मलासीले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार विसं २०७४ सालमा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा कुल ५७ हजार ४ सय महिला र ४९ हजार १ सय ४३ पुरुष गरी कुल १ लाख ६ हजार ५ सय ४३ मतदाता रहेका थिए ।

उक्त निर्वाचनमा संघीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४ दशमलव ७९ प्रतिशत मत खसेको थियो भने समानुपातिकतर्फ ६९ हजार १ सय ४९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । खसेका मतमध्ये प्रत्येक्षतर्फ ३ हजार ९ सय १० र समानुपातिकतर्फ ७ हजार ४ सय १६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा अहिले कुल मतदाता संख्या १ लाख १७ हजार ६ सय १७ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समयसमेत तोकेको छ । जिल्लाका कुल महिला ६२ हजार ३ सय ४१ र पुरुष ५५ हजार २ सय ७६ मतदाता सूचीमा रहेका छन् । माघ १५ देखि २१ सम्म नौवटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको छ ।

उक्त अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने प्रमुख मलासीले जानकारी दिनुभयो । यतिमात्र नभई जिल्लामा मतदान केन्द्र बढ्न सक्ने सम्भावना रहेको बताइएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका १ सय १५ स्थानहरुमा कुल १ सय ५७ मतदान केन्द्र रहेका थिए । अहिले मतदाता सङ्ख्या बढेकाले १ सय ६४ वा १ सय ६५ सम्म हुने सम्भावना रहेको कार्यालयले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका–६ मा रहेको साविकको शैलेश्वरी विद्यालयको मतदान केन्द्र र बडीकेदार गाउँपालिका–४ डिकेवनमा रहेको केन्द्र सार्नुपर्ने अवस्था रहेको निर्वाचन कार्यालयका प्रमुख मलासीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सिलगढीमा रहेको शैलेश्वरी विद्यालय अर्को विद्यालयमा मर्ज भइसकेको हुँदा त्यहाँबाट केन्द्र सार्नुपर्ने देखिन्छ, उता बडिकेदारको डिकेवनमा रहेको वडा कार्यालयमा आगजनी भएपछि, भवन नभएका कारण मतदान केन्द्र सानुपर्ने अवस्था आएको छ ।’

मतदान स्थलहरु थप्नुपर्ने भन्दै विभिन्न क्षेत्रबाट माग आएको भए पनि व्यवस्थापन गर्न समस्या हुने भएकाले तत्काल थप्नका लागि निकै गृहकार्य गर्नुपर्ने प्रमुख मलासीको भनाइ छ । आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढाइरहेको बताइएको छ ।