पर्यटकीय क्षेत्र रामारोशनमा आन्तरिक पर्यटक बढ्दै

पर्यटकीय क्षेत्र रामारोशनमा आन्तरिक पर्यटक बढ्दै

अछाम । बाह्र बण्ड अठार खण्डका नामले परिचित अछामको रामारोशनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । कोरोना महामारीका कारण ८ महिनादेखि सुनसान जस्तै रहेको रामारोशनमा आन्तरिक चहलपहल बढ्न थालेको हो ।

अछाममा अहिले कोरोनापछि जनजीवन सामान्य हुँदै गएसँगै जिल्लाका विभिन्न स्थानबाट रामारोशनमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको हो । रामारोशन गाउँपालिकाले पुस १ गतेदेखि रामारोशनका १२ तालमध्ये सबैभन्दा ठुलो ताल जिंगालेमा ¥याफ्टिङ सञ्चालन गरेपछि थप आकर्षण थपिएको स्थानीयको भनाई छ ।

१ महिनाको अवधिमा मात्रै रामारोशनमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट ३० हजार २ सय १० रुपैयाँ राजस्व सङ्कलन भएको रामारोशन पर्यटन अधिकारी सर्जन रोकायाले जानकारी दिनुभयो । विशेष गरी अहिले रामरोशन पर्यटन क्षेत्रको अवलोकन गर्न आइतबार, शुक्रवार र शनिबार धेरे जसो मानिसहरू आउने गरेका छन् ।

अछाममा कोरोना कहर नहुँदा रामारोशनमा दैनिक २ सयदेखि ३ सयसम्म मानिसहरू घुम्न आउने गरेका थिए । गत चैतदेखि लकडाउन हुँदा सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य रामारोशन पनि सुनसान थियो तर एक महिनायता ६ महिनासम्म सुनसान बनेको रामारोशनमा दैनिक ५० देखि ६० जनासम्म पर्यटक आउन थालेका रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिको अध्यक्ष चक्र रावलले बताउनुभयो ।

यसबाट रामारोशन क्षेत्रमा होटल व्यवसायीलाई राहत पुगेको उहाँको भनाई छ । सरकारले घोषणा गरेको १०० गन्तव्यमा पर्न सफल भएको रामारोशनमा पर्यटकले होटेलमा पनि चहलपहल बढ्न थालेको छ ।

रामारोशन घुम्न आएका आन्तरिक पर्यटक डुङ्गा चढेर रमाउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । कैलाश खोलाको मुहान रहेको रामारोशनमा प्रशस्तै गुफा र झरना मुख्य गरी किनिमिनी, रामे र रोशन क्षेत्रको अवलोकन गर्न अहिले पर्यटकहरू आउने गरेको रामारोशन पर्यटन क्षेत्र विकास अभियानमा सक्रिय रुपमा लाग्नुभएका पुष्प विष्टले बताउनुभयो ।

पछिल्लो पटक पर्यटक बढ्न थालेपछि आम्दानी पनि बढ्न थालेको र रामारोशन पर्यटन क्षेत्र विकासका लागि थप गुरु योजना बनाउने काम भइरहेको रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिको अध्यक्ष रावलको भनाई छ ।

उहाँले पर्यटकहरूलाई भित्राउनका लागि पर्यटकीय मार्ग निर्माण, सडक बिस्तार, प्रचार प्रसार, होटेल तथा होमस्टे व्यवस्थापनमा जोड दिइने बताउनुभयो । धर्म, संस्कृति र स्थानीय परिकारलाई पनि पर्यटनसँग जोड्दै स्थानीय युवा तथा सर्वसाधारणलाई स्वरोजगार बनाउनका लागि अहिले सबै सरोकारवालाहरू लागि परेका छन् ।

रामारोशनसँगै जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकहरू बढ्न थालेका छन् ।जिल्लाका वैद्यनाथ, नैनी, सुरैँकोट, पञ्चदेवल, तितौडा लगायतका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको सरोकारवालाको भनाई छ ।