सुदूरपश्चिम स्पोर्टस अवार्डः सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसनद्धारा प्रायोजन

सुदूरपश्चिम स्पोर्टस अवार्डः सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसनद्धारा प्रायोजन

धनगढी । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको तिवारी मेडिसिन डिष्ट्रिव्यटर्सले सहयोग गरेको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले आगामी चैत ६ गते आयोजना गर्ने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसिनले प्रायोजन गरेको हो ।

यो अवार्डको थप गरिएको विधा हो । यस विधा अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल महिला खेलाडीलाई अवार्ड प्रदान गरिनेछ । तीन जना महिला खेलाडीको मनोनय सार्वजनिक गर्दै चैत ६ गते एक जनालाई नगद २० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

स्पोर्टस अवार्डमा दिईने ९ वटा विधा मध्येको सुदूरपश्चिम आईकन महिला विधाको नाम तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स सुदूरपश्चिम आईकन महिला हुने भएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा तिवारी मेडिसिन डिष्ट्रिव्युटर्सका सञ्चालकद्धय दिपेन्द्रप्रसाद तिवारी र करन कर्णवाल तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरेका छन् ।

सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई सम्मान गर्नका लागि हुन गईरहेको अवार्डमा सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरेको तिवारी मेडिसिन डिष्ट्रिव्युटर्सका सञ्चालक करन कर्णवालले बताए । अर्का सञ्चालक दिपेन्द्रप्रसाद तिवारीले खेलकुद क्षेत्रका विभिन्न गतिविधिमा सहयोग गर्न आफू सधैँ तयार रहेको र त्यसका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई धनगढी उप महानगरपालिकाले प्रबद्र्धकको रुपमा सहयोग गर्ने सम्झौता भईसकेको छ । अन्य प्रायोजक र विधा प्रायोजकहरुको खोजी भईरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ ।

चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो । पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् ।

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ ।