प्रदेश–१ को सान्त्वना जित : कर्णाली पराजित

प्रदेश–१ को सान्त्वना जित : कर्णाली पराजित

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।

प्रदेश–१ ले दिएको २१६ रनको लक्ष्य पछ्याएको कर्णाली ३५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमै समेटियो । उसका लागि विपिन रावलले सर्वाधिक ४७ रनको योगदान दिए । १२.६ ओभरमा मनीष थापाबाट बोल्ड भएका उनले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरे । निश्चल रावलले ३१ र कप्तान रविन्द्र शाहीले १८ रनको योगदान दिए ।

प्रदेश–१ का लागि मनीष थापाले ५, दिपेश कंडेलले ३ र मनोज तामाङले २ विकेट हात पारे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रनको योगफल तयार पारेको थियो ।

उसका लागि कप्तान सिद्धन्त लोहनीले अर्धशतकीय पारी खेले । ४२.२ ओभरमा दिनेश अधिकारीको बलमा रवीन्द्र शाहीबाट क्याच हुनअघि उनले ९७ बलमा ९ चौकाको मद्दतले ६६ रन प्रहार गरे । शुभांकर उराउले ३६ र मनीष थापाले २५ रनको योगदान दिए । 

कर्णालीका लागि रवीन्द्र शाहीले ३, दिनेश अधिकारी र अनुज चुनाराले समान २–२, दिवान पुन र राज शाहले समान १–१ विकेट लिए । अघिल्ला खेलमा प्रदेश–१ ले नेपाल एपिएफ क्लबसँग १३५ रन, गण्डकी प्रदेशसँग २ विकेट र त्रिभुवन आर्मी क्लबसँग ४ विकेटको पराजय बेहोरेको थियो ।

आर्मीसँग ८० रनले पराजित भएको कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो ।