सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढी उपमहानगरपालिकाको साथ

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढी उपमहानगरपालिकाको साथ

धनगढी । धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरिरहेको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई साथ दिएको छ । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेकोमा आगामी चैत ७ गते हुने कार्यक्रमलाई प्रबद्र्धकको रुपमा साथ दिएको हो ।

उपमहानगरपालिकाले पाँचौं नगर सभा मार्फत आर्थिक वर्ष २०७७÷७८ को बजेटमा स्पोर्ट्स अवार्डलाई एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनाको तयारी थालेको दोस्रो संस्करणका लागि धनगढीका उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड र मञ्चका तर्फबाट महासचिव प्रदीप पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था रातो किताबमै गरेका थियौं । उहाँहरुले तयारी थालेपछि हामीले सहमति मात्रै जनाएका हौं ।’ मेयर ओडले भने–‘कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको थियो । आगामी वर्षदेखि बजेट वृद्धि गर्दै स्पोर्टस अवार्डको बजेटलाई निरन्तरता दिनेछौं । अहिलेको भन्दा अझ थप गरेर दिनेछौं ।’

धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर नृप ओडले बताए ।  नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ ।

उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरुपश्चिमा यो सम्भवतः पहिलो हो । स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको थियो । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणको तयारी सुरु भएको छ ।

२०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो । पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् ।