मोरङमाथि पुलिसको सहज जित

मोरङमाथि पुलिसको सहज जित

धनगढी : नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बुधबारको खेलमा मोरङ फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ ।

खेलको सुरुवाती समयदेखि दवाव बनाएको पुलिसले तीर्थ रानाको गोलमा अग्रता बनायो । उनले सातौं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योन्जनले बचाउन सकेनन् ।

२५ औं मिनेटमा मोरङका बालाको फ्रिकिकमा गोलरक्षकले पन्च गरेको रिबाउन्डमा विदुर रिजालको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३५ औं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले पुलिसको अग्रता दोब्बर पारे । अभिषेकले विङ्गबाट एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै किपरलाई बिट गरेर दिएको पासमा तीर्थले हेडर गोल गरे । ४३ औं मिनेटमा तेज तामाङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

दोस्रो हाफमा पनि पुलिसले आक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो । ५७ औं मिनेटमा सन्तोष हेमरुनको क्रसमा निरकुमार राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै निरकुमारले नै छोटो कर्नरमा सिधै पोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ।

७५ औं मिनेटमा अभिषेकको पासमा सन्तोष हेमरुनको प्रहार फितलो रहँदा पुलिसले अग्रता बढाउन सकेन । दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तिर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

पराजित टोलीका प्रशिक्षक संजिव बुढाथोकीले बलियो पुलिसविरुद्ध आफ्ना युवा खेलाडीले डटेर खेल्न नसकेको बताए । पुलिसका प्रशिक्षक अनन्त थापाले मैदान केहि नयाँ भएकोले सेट हुन समय लागेपनि नतिजा हात पार्दा खुसी रहेको बताए ।

पुलिसले अब पुष २९ गते हुने क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । बिहिबार हुने खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।