बान्नीगढी जयगढ गाउँपालिकाद्धारा ७८ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बान्नीगढी जयगढ गाउँपालिकाद्धारा ७८ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाले ७८ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। पालिकाले सबै वडाहरूमा अभियान नै सञ्चालन गरेर प्रत्येक वडा कार्यालयमा पुगेर न्यानो कपडा वितरण गरेको हो ।

न्यानो कपडा अन्तर्गत महिलाहरूलाई सल, स्विटर, टोपी र पुरुषहरूलाई ज्याकेट, टोपी र गलबन्दी उपलब्ध गराइएको हो । बान्नीगढी जयगढ गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहयोगमा वडा नम्बर १ गाज्रा, जनालिकोट, वर्दादेवि, तिमिल्सिना, कालिका र दर्ना गरी ६ वडाका ७८ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका निमित्त प्रमुख अप्सरा कुँवरले जानकारी दिनुभएको छ ।

गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम मङ्सिर महिनामै सुरु गरिए पनि पालिकामा कोरोनाका संक्रमित बढ्दै गएकाले केही ढिलो हुन गएको उहाँले बताउनुभयो । वडाहरूले सिफारिस गरेका आधारमा विपन्न, पछाडि परेका, छोरा बुहारीको समेत आर्थिक अवस्था कमजोर भएका नागरिक छनोट गरी न्यानो कपडा वितरण गरिएको बताइएको छ ।

गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का, उपाध्यक्ष लोकेन्द्र साउद लगायतको टोलीले प्रत्येक वडा कार्यालयमा पुगेर न्यानो लुगा वितरण गरेको हो । गाउँपालिका अध्यक्ष खड्काले ज्येष्ठ नागरिक समाजका दस्ताबेज भएको भन्दै बान्नीगढी सरकारले प्रदान गर्ने सेवामा ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर न्यायोचित ढङ्गबाट काम गर्दै आएको र आगामी दिनमा समेत पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।